पहलमान घर्ती
होलेरी (रोल्पा), फागुन ३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रोल्पा नगरपालिका प्रथम भएको छ । रोल्पाका १० स्थानीय तहमध्ये आथिर्क वर्ष २०८०/०८१ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को रिपोर्टमा रोल्पा नगरपालिकाले ९५ अङ्क लिएर पहिलो भएको हो ।
रोल्पा नगरपालिकाले शासकीय प्रबन्धमा नौ अङ्क, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवम् आर्थिक व्यस्थापनमा ११, सेवा प्रवाह १६, न्यायीक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ९ दशमलव ५ प्रतिशत, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद व्यवस्थापन ७ दशमलव ५ प्रतिशत, सहकार्य र समन्वयमा ६ अङ्क गरी कुल ९५ अङ्क पाएको हो ।
यस्तै, लुङ्ग्री गाउँपालिकाले ९४ दशमलव २५ अङ्क पाएको छ । सुनिलस्मृति गाउँपालिकाले ८९ अङ्क, गंगादेव र सुनछहरी गाउँपालिकाले समान ८८ दशमलव ५ प्रतिशत अङ्क पाएका छन् । त्रिवेणी गाउँपालिकाले ८५ दशमलव २५ प्रतिशत अङ्क, परिवर्तन गाउँपालिकाले ८३ अङ्क, थबाङ गाउँपालिकाले ८१ दशमलव २५ प्रतिशत अङ्क पाएको छ । रुन्टीगढी गाउँपालिकाले ८० दशमलव ५ प्रतिशत अङ्क, माडी गाउँपालिकाले ७८ दशमलव २५ अङ्क पाएको छ ।
स्थानीय तहको सबल र दुर्बल पक्षहरूको विश्लेषण गर्ने प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी पालिकाले आ–आफ्नो वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
मन्त्रालयका अनुसार शासकीय प्रबन्धमा ९ अङ्क, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवम् आर्थिक व्यस्थापनमा ११, सेवा प्रवाह १६, न्यायीक कार्यसम्पादन ७, भौतिक पूर्वाधार १३, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद व्यवस्थापन ९, सहकार्य र समन्वयमा ६ अङ्कसहित जम्मा १०० सय पूर्णाङ्कमा मूल्याङ्कन गर्ने गरिएको छ ।
संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतले स्थानीय तहको कार्यजिम्मेवारी तोकेको विषयमा लेखाजोखा गर्न स्वमूल्याङ्कन गर्ने गरिएको छ । सङ्घीय मामिला मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गर्ने गरेको छ ।