• ३ फागुन २०८१, शनिबार

जङ्गली हात्ती मृत फेला

blog

फाइल तस्बिर

यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), फागुन ३ गते ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ खैलार गाउँमा जङ्गली हात्ती मृत फेला परेको छ । खैलार गाउँको प्राथमिक विद्यालय नजिक गहुँ खेतमा भाले हात्ती मृत फेला परेको हो ।

करिब ३० वर्षका भाले हात्ती मृत फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । मृत हात्तीको शरिरिक अवस्था हेर्दा बिरामी भएर प्राकृतिक कारणले मृत्यु भएको जस्तो देखिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताउनुभयो ।

उहाँले हात्तीको छालामा स–साना फोका उठेकोले अलि समस्या ग्रस्त पनि देखिएको बताउनुभयो  । ‘‘हात्ती गेरुवादेखि बबई चेपाङ्गसम्म आउने जाने गरेको देखिएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले पनि कतै चोट लागेर स्वास्थ्य अवस्था बिग्रेको पनि हुन सक्छ ।’’

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुने उहाँको भनाइ छ । मृत हात्तीको पोस्टमार्टम गरी अन्त्येष्टि गर्ने तयारी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।