• ३ फागुन २०८१, शनिबार

मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा

blog

धुलिखेल नगरपालिका–९, बतासेमा सञ्चालनमा ल्याएको काठमाडौँ विश्वविद्यालय मानसिक स्वास्थ्य केन्द्र । तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता 

बनेपा, फागुन ३ गते । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा नेपालकै ठुलो मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । काठमाडौँ विश्वविद्यालय (केयु) ले आफ्नो आन्तरिक स्रोतबाट धुलिखेल नगरपालिका–९, बतासेडाँडामा ‘काठमाडौँ विश्वविद्यालय मानसिक स्वास्थ्य केन्द्र’ स्थापना गरिएको हो ।

काठमाडौँ विश्वविद्यालय मानसिक स्वास्थ्य केन्द्रका निर्देशक डा. दीपक कुँवरले मानसिक स्वास्थ्यको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन, मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धान, मानसिक स्वास्थ्य पुनस्र्थापना केन्द्र स्थापना गर्ने उद्देश्य अनुरूप मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिएको बताउनुभयो । 

“हामीले सञ्चालन गरेको मानसिक स्वास्थ्य केन्द्रमा हाल एक सय जनाको क्षमता रहेको छ, यसलाई नेपालमा मानसिक स्वास्थ्यको ठुलो संस्था र क्षमता भएको केन्द्रका रूपमा बढाइने छ,” निर्देशक डा. कुँवरले भन्नुभयो । 

उहाँले मङ्सिर २८ गतेबाट केन्द्र सञ्चालनमा आएको बताउनुभयो । केयुको १६ करोड रुपियाँ आन्तरिक स्रोतबाट मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । केन्द्रमा हाल १० जना बिरामी उपचाररत रहेको बताउनुभयो । “हामीले यसलाई एकेडेमिक सेन्टरका रूपमा विकास गर्न एमएसी क्लिनिकल साइकोलोजी कार्यव्रmमसमेत सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,” डा. कुँवरले भन्नुभयो । 

केन्द्रमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भई घरमा हेरचाह गर्न नसक्ने बिरामी, अटिजम भएका बालबालिका, बौद्धिक मानसिक अपाङ्गता भएका बिरामी, मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकको हेरचाहका साथै मानसिक रोग भएका बिरामीका लागि ‘डे केयर’ सुविधासमेत उपलब्ध गराएको छ । केन्द्रका निर्देशक डा. कुँवरले मानसिक स्वास्थ्य समस्या भई केन्द्रसम्म उपचारका लागि आउन नसक्ने बिरामीका लागि २४ घण्टा नै ‘टेलिमेडिसिन’ मार्फत बिरामीका लागि परामर्शसमेत उपलब्ध गराउने बताउनुभयो । केन्द्रले आत्महत्या रोकथामका लागि गृह मन्त्रालयसँग सम्झौता गरेर देशभरका सबै प्रहरीलाई मनोरोगसम्बन्धी ‘साइकोलोजिकल फस्ट एड’ तालिम सञ्चालन गरेको छ । 

पहिलो चरणमा प्युठान जिल्लामा कार्यरत करिब तीन सय प्रहरीलाई साइकोलोजिकल ‘फस्ट एड’ तालिम सञ्चालन गरेको हो । “साइकोलोजिकल ‘फस्ट एड’ तालिममार्फत आत्महत्याको प्रयास गर्ने व्यक्तिको पहिलो उद्धारकर्ताका रूपमा प्रहरी हुने भएकाले उनीहरूसँग कसरी प्रस्तुत हुने, उनीहरूको कुरा कसरी लिने, उनीहरूसँग कस्तो व्यवहार गर्नेलगायतका विषयमा जानकारी दिइने छ,” निर्देशक डा. कुँवरले थप्नुभयो । नेपाल सरकारले विश्वविद्यालयलाई भोगचलन गर्न दिएको ५४० रोपनी जग्गामा अस्पताल निर्माणको काम भइरहेको हो ।

नेपालमा सरकारी निकायमातहत एउटा मात्रै मानसिक रोगको उपचार गर्ने अस्पताल रहेको सन्दर्भमा केयुले सुरु गरेको मानसिक स्वास्थ्य केन्द्र प्राज्ञिक निकायबाट सञ्चालन भएको पहिलो मानसिक रोगको पुनस्र्थापना केन्द्र हो । यो अनुसन्धान केन्द्र र जनशक्ति उत्पादन गर्ने निकायका रूपमा रहेको छ । पछिल्लो समय मनरोगीको सङ्ख्या बढ्दै गएको अवस्थामा केन्द्र धुलिखेलमा स्थापना गरिएको मानसिक स्वास्थ्य केन्द्रले बिरामीको उपचारमा सहजता ल्याउने विश्वास गरिएको छ ।