• ७ फागुन २०८१, बुधबार

पालिकाबाट सदरमुकाम पुग्नै एक दिन : तीन दिनसम्म पालो कुर्नुपर्ने

blog

भौगोलिक रूपले विकट कालीगण्डकी गाउँपालिकाको गाउँबस्ती । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, फागुन ३ गते ।  सदरमुकाम तम्घासदेखि भौगोलिक हिसाबले टाढा रहेका स्थानीयलाई प्रशासनबाट सहज रूपमा सेवा लिन समस्या हुने गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाबाट सदरमुकाम जान झन्डै छदेखि आठ घण्टा लाग्ने गर्छ । 

नागरिकता र राहदानी बनाउन तम्घास पुग्दा करिब २ देखि ३ बज्ने र त्यस दिनका लागि राहदानीलगायतका कार्य गर्न टोकन सकिइसक्ने समस्याले सेवाग्राहीलाई समय र पैसा दुवै खर्चिलो हुने गरेको छ । कहिलेकाहीँ त दुई दिनअगावैको टोकन वितरण हुने हुँदा तीन दिनसम्म प्रशासनबाट सेवा लिन पालो पर्खिनुपर्ने अवस्था आउने गरेको छ ।

कालीगण्डकी गाउँपालिका–१, हर्मीचौरका रोमकान्त पाण्डेले केही महिनापहिले भाइको राहदानी बनाउनकै लागि तीन दिन पालो कुर्नुपर्ने अवस्था आएको दुःखेसो पोख्नुभयो । यस्तै सोही गाउँपालिका वडा नं. ३ का ईश्वरी विकले पनि विकटबाट जाँदा समय घर्किने भएकाले सोही दिन प्रशासनबाट सेवा पाउन नसकेको बताउनुभयो ।

यही समस्याका कारण केही महिनापहिले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले पालिकाभित्रका नागरिकले सहज रूपमा सेवा नपाएको झोकमा प्रशासनको स्क्यानर नै फुटाउनुभयो । विकटबाट आउने सेवाग्राहीले सहज रूपमा सेवा नपाएको र राहदानी बनाउनकै लागि लामो समय खर्चिनुपर्ने भएकाले आफूले जनताको आवाज उठाएको उहाँको भनाइ छ । गुल्मीको सुदुरपूर्वलाई ध्यानमा राखी यस क्षेत्रमा इलाका प्रशासन आवश्यक रहेको नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले बताउनुभयो । 

यसका लागि राजनीतिक तवरबाट आफूहरूले पहल गरिरहेको उहाँको दाबी छ । यस्तै स्थानीय पालिका सरकारसँग पनि समन्वय गरी पहल अगाडि बढाइएकाले यस अभियानलाई सार्थक बनाउने उहाँले बताउनुभयो ।  यता जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले केही वर्षपहिले इलाका प्रशासन राख्नेबारे छलफल भएको र सर्वपक्षीय रूपमा स्थानका लागि सहमति नहुँदा रोकिएको बताउनुभयो । 

त्यस क्षेत्रका लागि इलाका प्रशासन आवश्यक रहेको आफूहरूलाई पनि लागेको बताउँदै गृह मन्त्रालयले नै यसबारे निर्णय गर्न सक्ने उहाँले बताउनुभयो । सदरमुकामबाट विकट रहेकाले उक्त क्षेत्रका लागि सेवा प्रवाहमा आफूहरूले सक्दो प्राथमिकता दिँदै आएको उहाँले बताउनुभयो ।