• ३ फागुन २०८१, शनिबार

जनताको पक्षमा सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

blog

भवनको उदघाटन गर्नुहुँदै उपप्रधानमन्त्री बिष्णुप्रसाद पौडेल । तस्बिरः अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, फागुन २ गते । नेपाल सरकारको उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अहिलेको सरकारले देश र जनताको पक्षमा काम गरिरहेको बताउनुभएको छ । 

बिरुवा गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार यहाँ उदघाटन् गर्दै उहाँले सो कुरा बताउनुभएको हो । पटक पटक सरकार परिवर्तन हुँदा देश र जनताको पक्षमा काम नभएको देखेर अहिले प्रमुख दुई दल मिलेर स्थायी सरकार बनाएको उहाँले प्रष्ट पार्नुभयो । 

दुई ठुला दलविचको सत्ता समिकरण प्राकृतिक भएकाले आगामी निर्वाचन २०८४ सम्म सहकार्य जारी रहने उहाँको भनाइ छ । राजनीतिक स्थायित्व र देशको विकासका लागि दुई दल एक ठाउँमा आएको उहाँले प्रष्ट पार्नुभयो । 

देशलाई उन्नतिको बाटोमा लग्न बर्तमान सरकार लागिपरेको बताउँदै उपप्रधानमन्त्री पौडेलले यही सरकारले देश बनाउने दावी गर्नुभयो । तीन तहको सरकारले आफ्नो क्षमताअनुसारको काम गरिरहेको उहाँको भनाइ छ । 

सिदार्थ राजमार्ग जोडिएको पालिकाको मात्र सिदार्थ राजमार्गको महत्व नभई सबै पालिकाको रहेको बताउँदै उहाँले यसमा आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । बुटवल–पोखराको सडकलाई स्तरोन्नति भइरहेको उहाँले बताउनुभयो । 

स्याङजालाई पछाडि पर्न नदिने बताउँदै मन्त्री पौडेलले ज्याग्दी कोरिडोरलाई आगामी बजेटमा प्राथमिकता राखेर अगाडि बढ्ने बताउनुभयो । भवन जनताले बनाएको र यसको श्रेय जनतालाई जाने बताउँदै गुणस्तरीय सेवा दिन कर्मचारीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा संघीय सांसद राजु थापाले भवन निर्माण भएसँगै सिंहदरबारको अधिकार पालिकामा आएको अनुभूति भएको बताउनुभयो । 

पूर्व संघीयमन्त्री तथा एमालेका सचिव पद्माकुमारी अर्याल, गण्डकी प्रदेशको पूर्व आर्थिक मामिलामन्त्री सीता सुन्दास, गण्डकी प्रदेश पूर्व वनमन्त्री दीपक घर्तीमगर, गाउँपालिका अध्यक्ष सूर्य कुँवर, पूर्व अध्यक्ष चुनप्रसाद शर्मा लगायतले मन्तब्य राख्नु भएको थियो । 

प्रशासकीय भवन ७८ लाख ८० हजार ४० रुपियाँ संघीय सरकार, गण्डकी प्रदेश सरकारको ७७ लाख ७४ हजार १४९ रुपियाँ र बिरुवा गाउँपालिकको ६ करोड ४३ लाख १५ हजार ९९२ रुपियाँ गरेर सात करोड ९९ लाख ७० हजार १८१ रुपियाँमा निर्माण भएको हो । 

प्रशासकीय भवन १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । भवनमा प्रशासकीय भवन, एक चमेना गृह, एक  सुरक्षा गार्ड भवनसहित जम्मा २९ वटा कोठा छन् । २०७७ असार ३१ गते गीता श्री क्रिएटिभ जेभी पुतलीबजार नगरपालिका –७, स्याङ्जाले निर्माण गरेको भवनमा गत साउन १ गतेबाट सञ्चालनमा आएको थियो । भवन निर्माणसँगै सेवा प्रवाहमा छिटोछरितो र गुणस्तरीयता कायम गर्न सहयोग पुगेको प्रशासकीय अधिकृत भेषराज आचार्यले बताउनुभयो ।