जानु पाण्डे
कपिलबस्तु, फागुन २ गते । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागुऔषध नियन्त्रण अभियानलाई थप कडा बनाएको छ । प्रहरीले विशेष अभियान सञ्चालन गर्दै लागुऔषध ओसारपसार तथा कारोबार गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइरहेको छ ।
पछिल्लो एक साताको अवधिमा मात्रै कृष्णनगर नाका हुँदै नेपालमा लागुऔषध ल्याउँदै गरेका ९ जना कारोवारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताउनुभयो ।
प्रहरीले उनीहरुबाट ७.७२० ग्राम ब्राउन सुगर बरामद गरेको छ । लागु औषध ओसारपसारमा प्रयोग भएका ३ मोटरसाइकल र एउटा कारसमेत नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शिव खत्रीका अनुसार कृष्णनगर नाका हुँदै नेपाल भित्र्याइने लागुऔषधको आपूर्ति रोक्न र सुराकी र सुरक्षाकर्मीको निगरानी बढाइएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक इकरामुद्धीन, नसिम खान र पास गौड, विजयनगर गाउँपालिकाका मतिउल्लाह मुसलमान र मैराज अहमद छन् । यसैगरी मनोज कुमार यादव, बसन्त न्यौपाने र राजकुमार भुसाललाई ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।