दुर्गा खड्का
प्रेम भनेको फूलको सुवासजस्तो,
न आँखाले देखिन्छ, न हातले समातिन्छ,
तर पनि मुटुको कुनामा बसेर
मधुर मिठासले मनलाई भरिदिन्छ।
यो कुनै एक दिनको सन्देश मात्र होइन,
न त कुनै क्षणिक उत्सवको बहाना,
यो त श्वासभित्र बहने गीत हो,
जो जीवनभर गुनगुनाइरहन्छ, अनवरत।
प्रेम भनेको नदीको बगाइ हो,
जुन आफ्नै लयमा निरन्तर बगिरहन्छ,
न त रोकिन्छ, न त सकिन्छ,
माया गर्ने हृदयहरूमा सधैं बास बस्छ।
कसैको हाँसोमा आफू हराउने कला हो प्रेम,
कसैको आँसुलाई आफ्नै मनले पुछ्ने साहस हो,
एकअर्कालाई बुझ्ने, सम्हाल्ने
र हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता हो।
तिमी मसँग छौ भने फागुनको न्यानोपन,
तिमीबिना पनि माया सम्झनामा बाँच्छ,
फूल झरे पनि सुवास हराउँदैन,
माया साँचो भए कहिल्यै मर्दैन।