• ३ फागुन २०८१, शनिबार

लालुपाते फुलेपछि मनमोहक देखियो हिमाल

blog

सेताम्मे हिमशृङ्खलासँगै फुलेको लालुपातेको मनोरम दृश्य । तस्विरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन २ गते । ‘लालुपाते नुघ्यो भुइँतिर, कि लाउ माया मैतिर, कि लाउ उइतिर, ए निर नलाउ दुईतिर’ गायक राजु परियार र विष्णु माझीले स्वरमा सजिएको लोकदोहोरी गीत जनजिब्रोमा जति लोकप्रिय छ, लालुपाते फूल पनि उत्तिकै मनमोहक हुन्छ । 

लालुपाते फूलको ऐतिहासिक, धार्मिक एवं प्राकृतिक महत्व छ, भनिन्छ । विभिन्न लोकभाकामा मात्र हैन, मठ मन्दिर, धार्मिक अनुष्ठान र वातावरणीय सौन्दर्यीकरणका लागि लालुपातेको प्रयोग बढ्न थालेको छ । जलवायु परिवर्तनका कारण यस वर्ष माघमै लालुपाते फुलेको छ ।  

हिउँदको समयमा फुल्ने लालुपातेले अन्य फूलहरु नहुँदा त्यसको परिपूर्ति गर्ने गरेको छ । यो फूल लामो समयसम्म नओइलिकन रहिरहन्छ । मध्यपहाडी क्षेत्रमा फुल्ने लालुपातेको प्रचार–प्रसार र व्यवसायीकरणमा ध्यान दिने हो भने प्राकृतिक उपहार त्यत्तिकै खेर जान नपाउने डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्तोष खनालले बताउनुभयो । सौन्दर्यकरणका लागि विभिन्न प्रकारका प्रजातिको ग्राफ्टिङ गर्न सकिने उहाँले बताउनुभयो ।

इसा धर्मावलम्बीको क्रिसमसमा लालुपाते फूलको प्रयोग अनिवार्यजस्तै हुन्छ । विश्वका ५० प्रतिशतभन्दा बढी इसा धर्मावलम्बीले यसको प्रयोग गर्ने गरेका छन् । नेपालमा पुष्प व्यवसायको कुल कारोबारमध्ये १० प्रतिशत हिस्सा लालुपातेले ओगटेको पुष्प व्यवसायीहरु बताउँछन् । 

अन्य पुष्प व्यवसायसँगै सुरु भएको लालुपाते नेपालका ३५ जिल्लामा व्यवसायको रूपमा उत्पादन हुँदैआएको छ । घर तथा कार्यालयहरु सौन्दर्यका लागि गमलामा लालुपाते फुलाउने प्रचलन बढ्दै गएको पुष्प व्यवसायी हुमा गुरुङले बताउनुभयो ।

मेक्सिकोमा पत्ता लागेर अमेरिका हुँदै विश्वभर फैलिएको लालुपातेको सुरुमा दुई प्रजाति मात्र थिए । हाल यसको एक सयभन्दा बढी प्रजातिको विकास भइसकेको छ । नेपालमा हाल १० प्रजातिको लालुपाते पाइन्छ । विश्वका सबैजसो देशमा पाइने लालुपाते कसैले फूलको रूपमा प्रयोग गर्छन् त कसैले औषधिको रूपमा । यो किटनाशक विषादीको रूपमा पनि प्रयोग हुन्छ । 

नेपालबाट निर्यात हुनसक्ने कृषिजन्य वस्तुहरूको सूचिमा पुष्पजन्य वस्तुको ठुलो सम्भावना छ । लालुपातेको पनि व्यावसायिक उत्पादन हुन सकेमा राष्ट्रिय अर्थतन्त्रमा  टेवा पुग्ने पुष्प व्यवसायीको भनाइ छ ।