दोलखा समाचारदाता
दोलखा, फागुन २ गते । दोलखाको शैलुङ गाउँपालिका–३ का किसान हरि कार्कीले यस वर्ष सात हजार केजी किवी उत्पादन गर्नुभएको छ । उहाँले उत्पादन गरेको किवी प्रायः सबै काठमाडौँ लगेर भण्डारण गरी बेच्ने गर्नुभएको छ । जिल्लामै लाखौँ खर्चेर निर्माण गरिएको शैलुङको शीतभण्डार प्रयोगविहीन बन्दा केजीमै पाँच रुपियाँ शुल्क तिरेर पाँच हजार केजी किवी ललितपुर लगनखेल महालक्ष्मी स्थानको शीतभण्डारमा राखेर बिक्री गर्दै आएको उहाँले गुनासो गर्नुभयो ।
कार्कीले गत वर्ष पनि काठमाडौँकै विभिन्न स्थानका चिस्यान केन्द्रमा राखेर किवी बिक्री गर्नु परेको गुनासो गर्दै लाखौँ लगानी गरेर निर्माण गरिएको गाउँको शीतभण्डार प्रयोगमा आउन नसक्दा बेमौसमसम्म किवी राख्न काठमाडौँमा महँगो शुल्क तिर्नु परेको बताउनुभयो ।
केही वर्षअघि नै निर्माण सम्पन्न भएको तीन सय मेट्रिक टन क्षमताको शैलुङ शीतभण्डार सञ्चालन गर्न स्थानीय सरकार तथा सरोकारवालाले चासो नदिँदा बर्सेनि हजारौँ रुपियाँ काठमाडौँका शीतभण्डारलाई किवी राखेबापत बुझाउनु परेको उहाँको गुनासो छ । शैलुङमा उहाँ जस्तै लाखौँको किवी तथा आलु उत्पादन गर्ने किसान छन् । करिब सात करोड खर्चेर निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन छ । पटक पटक उक्त शीतभण्डारलाई प्रयोगमा ल्याउन स्थानीय सरकारलाई भने पनि कुनै सुनुवाइ नभएको किसान कार्कीले गुनासो गर्नुभयो ।
कार्कीले बर्सौंदेखि खाली रहेको दुई हेक्टर पाखो बारीको सदुपयोग गरेर सात सय बोट किवी लगाउनुभएको छ । उहाँले लगाएको करिब ३५० बोटबाट वार्षिक २० लाख बराबरको किवी उत्पादन हुँदै आएको छ ।
शैलुङका किवी किसान कार्कीको जस्तै दुःखेसो अर्का किसान जिरी–२, एलुङका पासाङ तेन्जी शेर्पाको पनि रहेको छ । शेर्पा जिरीका एक सफल किवी किसान तथा व्यापारी हुनुहुन्छ । शेर्पाले गुणस्तरीय जिल्लामै हजारौँ किलो किवी उत्पादन गर्दै आउनुभएको छ । शेर्पाले पनि बेमौसमका लागि काठमाडौँमा किवी भण्डारण गर्दै आउनुभएको छ । जिल्लामा किवी खेती गर्ने किसान बढे पनि किबी राख्ने शीतभण्डार नभएको गुनासो गर्दै उहाँले केही निर्माण भएका शीतभण्डार पनि प्रयोगविहीन बन्दा आफू जस्तै किसानले ठुलो समस्या भोग्नु परेको बताउनुभयो ।
यहाँका विभिन्न स्थानमा निर्माण भएका शीतभण्डार किसानलाई पायक पर्ने ठाउँमा छैनन् । कतिपय निर्माण भएर थन्किएर बसेका छन् । जिल्लामा किवीको बजार छैन । उत्पादित किवीको माग काठमाडौँलगायतका ठुला बजारमै राम्रो भए पनि दोलखाको किवीलाई बेमौसमसम्म राख्न काठमाडौँ नै पुर्याउनुपर्ने बाध्यता रहेको शेर्पाले बताउनुभयो ।
शेर्पाको सर्वाखास कृषि फार्ममा उत्पादन भएको किवी पछिल्लो समय देशभर लोकप्रिय र स्वादिष्ट बन्दै गएको छ । अन्य साना किसानले भदौदेखि नै किवीलाई बजारमा ल्याउने गरे पनि आफ्नो फार्मबाट कात्तिक–मङ्सिरपछिको समयमा मात्रै बजारमा किवी जाने गरेको उहाँले जानकारी दिनुभयो ।
बजार पाउने आसमा कतिपय किसानले काँचो किवीलाई बजार पुर्याउँदा कात्तिकअघिको किवी अमिलो र कम स्वादिलो हुने हुँदा सिङ्गो जिल्लाको किवीलाई निर्यातकर्ता तथा व्यापारीले एउटै ठानेर जिल्लाको किवीलाई महìव दिन छाडेको किसानको गुनासो रहेको छ । किसान शेर्पाले हाल एक हजार नौ सय बोट किवी लगाउनुभएको छ । शेर्पाले ग्राहकको रोजाइ अनुसारको गुणस्तर र साइज अनुसारको किवी मात्रै राम्रो वर्गीकरण गरेर बजार लाने गर्नुभएको छ । काठमाडौँमा मासिक प्रतिकेजी पाँच रुपियाँ तिरेर असारसम्म जिरीको किवीलाई कोल्ड स्टोर राखेर पोखरा, जनकपुर, गुल्मी तथा भारतसम्म पठाउने गरेको शेर्पाले जानकारी दिनुभयो ।