माछापुच्छ्रे समाचारदाता
माछापुच्छ्रे (कास्की), फागुन २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन प्रवर्धनमा धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधीन सराङकोट धामको बिहीबार अवलोकन गर्नुहुँदै मन्त्री गुरुङले नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको बताउनुभयो । उहाँले सराङकोटमा निर्माण गरिएका मन्दिरलगायत अन्य संरचनाको अवलोकन गर्नुभएको हो । धार्मिक र ऐतिहासिक ठाउँको संरक्षणमा सरकारले ध्यान दिने उहाँको भनाइ छ ।
पर्यटकीय क्षेत्र सराङकोटलाई धामको रूपमा विकास गर्ने उद्देश्यले २०६३ सालदेखि धाम निर्माण गर्न थालिएको हो । धाममा निर्माण सम्पन्न भएका नेपालकै ठुलो पञ्चमुखी गणेश मूर्ति, विशाल शिव मन्दिर, १०८ जलधारा, १०८ शिवलिङ्ग, भ्युटावर र बहुउद्देश्यीय भवनको मन्त्री गुरुङले अवलोकन गर्नुभयो । फागुन १४ गतेदेखि सुरु हुने धार्मिक पर्यटन महोत्सवका बारेमा पनि मन्त्री गुरुङलाई त्यस अवसरमा जानकारी गराइएको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले धार्मिक आस्थासँगै पर्यटकलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वका बारेमा जानकारी गराउने उद्देश्यले महोत्सव गर्न लागिएको बताउनुभयो । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको पहलमा नेपाल सरकार, प्रदेश र स्थानीय तह र स्थानीय दाताको सहयोगमा धाममा ३५ करोड रुपियाँ लगानी गरिएको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयो ।
उहाँका अनुसार बाँकी काम सम्पन्न गर्न थप १५ करोड रुपियाँ आवश्यक रहेको छ । एक हजार एक सय ११ सदस्यीय समिति गठन गरी महोत्सवको तयारी गरिएको प्रचारप्रसार समिति संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो । धार्मिक पर्यटन महोत्सवमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख वाचक रहनुभएको छ ।