• १ फागुन २०८१, बिहिबार

वातावरण संरक्षणका लागि सामुदायिक रेडियोसँग सहकार्य गर्ने वन मन्त्रीको प्रतिबद्धता

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वन तथा वातावरण मन्त्री ऐनबहादुर ठकुरी। तस्बिरः अकोराब

काठमाडौँ, फागुन १ गते। वन तथा वातावरण मन्त्री ऐनबहादुर ठकुरीले जलवायु परिवर्तनको असरबाट बचाउनका लागि सामुदायिक रेडियोले सूचनाका माध्यमबाट गरेको काम प्रशंसा गर्न लायक भएको बताउनुभएको छ। 

१४ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले विभिन्न सरोकारवाला निकायको सहकार्यमा बिहीबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो। 

नेपालको सन्दर्भमा सामुदायिक रेडियोले सूचनाको हक पूरा गर्न मात्रै नभएर सकारात्मक सामाजिक रुपान्तरणका लागि विचार निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ। जलवायु परिवर्तनको असर कम गर्नका लागि सबैभन्दा पहिले सामुदायिक रेडियोको क्षमता विकास महत्वपूर्ण भएको बताउनुभयो। त्यसका लागि आफ्नो मन्त्रालय सकारात्मक भएको बताउँदै वातावरण संरक्षणका लागि सूचना प्रवाह गर्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो। 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक रुपान्तरण, भाषिक विभिदताको संरक्षणमा पनि रेडियोको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो। 


रेडियोको भविष्यको बारेमा चिन्ता व्यक्त गर्दै सुधारिएको रेडियो, प्रविधिमा आधारित र नागरिकको सहभागिता नै रेडियोको दिगोपनाको विकल्प रहेको उहाँको भनाइ छ। 

जलवायु परिवर्तनका कारण प्राकृति स्रोतमा निर्भर सीमान्तकृत समुदायको दैनिकी जटिल भएको भन्दै रेडियोले नागरिकको व्यवहार, आनिबानी परिवर्तनका लागि सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो। 

आगामी दिनमा पनि जलवायु परिवर्तनका कारण पर्ने प्रभावका बारेमा निरन्तर सूचना दिइनुपर्ने धारणा राख्नुभयो। मन्त्रालयको काम, व्यवहारका बारेमा कार्यक्रममा उठेका विषयमा सम्वोधन गर्न मन्त्रालय प्रतिबद्ध रहेको छ। 

कानुनमा भएका विषयमा सम्बोधन गर्ने उपयुक्त संयन्त्रमा देखिएको समस्याका बारेमा जानकारी गराउने उहाँले बताउनुभयो। 

आगामी दिनमा लिखित रुपमा सुझाव दिन पनि उहाँले अनुरोध गर्नुभयो। विगतबाट सिकाइ लिएर बाधा, अड्चन फुकाउन प्रयास गर्ने सचिव अर्यालको भनाइ छ। सहकारी सहयोगी भूमिकामा रहन्छ र सहजिकरण गर्ने उहाँले बताउनुभयो।