• १ फागुन २०८१, बिहिबार

सबै नेपालीसम्म निरोधात्मक अभियान पुर्‍याऔँः स्वास्थ्यमन्त्री

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल बिहीबार पोखरामा आयोजित ‘नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, फागुन १ गते ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरू विरुद्धको निरोधात्मक अभियान सबै नेपालीसम्म लैजानुपर्नेमा जोड दिनुभएको छ । बिहीबार पोखरामा आयोजित ‘नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान’ उद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।

स्वास्थ्य मन्त्रालयले प्रदेश र स्थानीय सरकारहरुसँग मिलेर सुरु गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न उहाँले सबैमा आग्रह गर्नुभयो । अब निरोधात्मक अभियान प्रभावकारी नबनाए देशले उपचार सेवालाई धान्न नसक्ने प्रष्ट पार्नुभयो । “अहिले नसर्ने रोगहरू यसरी बढेका छन् कि अब निरोधात्मक उपचारलाई रणनीतिका रूपमा अघि नबढाउने हो भने उपचारात्मक सेवालाई धान्न सक्ने अवस्था रहँदैन,” उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले रक्तचाप जाँच र मधुमेह जाँचका लागि रगत दिएर अभियान सुरुआत गर्नुभएको छ । मधुमेह, रक्तचाप र मिर्गाैलाका जाँचहरू बेला बेलामा गरी रोगबारे जानकारी पाएपछि उपचार गर्न र रोग लाग्न नदिन सहयोग पुग्ने उहाँको भनाइ छ । ३० वर्षभन्दा माथिका एक करोड ३० लाख नेपालीलाई यो अभियानमा सहभागी गराउने लक्ष्य उहाँले सुनाउनुभयो ।

नेपालमा हुने मृत्युको तीन चौथाइ कारण नसर्ने रोग भएको टिप्पणी गर्नुहुँदै उहाँले सेवा लिन आउनेहरूलाई स्रोत, साधन भ्याएसम्म व्यवस्थित रूपमा सेवा प्रवाह गर्न आग्रहसमेत गर्नुभएको छ । मन्त्री पौडेलले पोखरा २१ को कृष्ति स्वास्थ्य चौकीलाई ग्रामीण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरणसमेत गर्नुभएको छ ।