लहान समाचारदाता
लहान, फागुन १ गते । गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै लहानस्थित मालपोत कार्यालयअगाडि स्थानीय धर्नामा बसेपछि दुई दिनदेखि नियमित काम प्रभावित भएको छ । लहान नगरपालिकाको २४ वटै वडाका स्थानीयले सङ्घर्ष समिति गठन गरेर धर्ना दिएका हुन् ।
माग पूरा नभएसम्म धर्ना दिने समितिका संयोजक वडा नं. ६ का पूर्ववडाध्यक्ष नेपाली कांग्रेसका नेता अरुण केसीले बताउनुभयो । उहाँले मागलाई बेवास्ता गरिँदा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । उहाँका अनुसार जग्गा फुकुवा नहुँदा बैङ्कबाट कारोबार गर्न नसक्ने, छोराछोरीको विवाह, शिक्षा र भइपरी आएका गर्जो टार्न ठुलो समस्या भएपछि बाध्य भएर आन्दोलन गर्नु परिरहेको छ । नगर उपप्रमुख रामचलितर महतोले नगरपालिकाका १५ हजार घरपरिवारको समस्या भएकाले धर्ना कार्यव्रmममा उपस्थित भएर समर्थन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो समस्या समाधान गर्न विगतदेखि नै सम्बन्धित मन्त्रालय विभाग हरेक ठाउँमा पुगेर थालेको प्रयास सफल ह्ुन नसकेपछि आन्दोलनलाई उचित ठानेर समर्थन गरेका छौँ ।”
गाउँ ब्लक सङ्घर्ष समितिले थालेको आन्दोलनमा मालपोत कार्यालय लहान शाखामा रहेको लेखापढी व्यवसायी सङ्घको समेत समर्थन रहेको सङ्घका अध्यक्ष रामनारायण यादवले बताउनुभयो । अध्यक्ष यादवले भन्नुभयो, “लेखापढी व्यवसायी लहानका २४ वटै वडाका पीडितको समस्या सुनेको मात्रै होइन, महसुससमेत गरेकाले धर्नामा बसेका स्थानीयलाई साथ समर्थन दिन धर्नामा बसेका छौँ ।” माघ २९ देखि मालपोत कार्यालयको मूल प्रवेशद्वारमा धर्ना बसेपछि कार्यालयको सेवा प्रभावित भएको कार्यालय प्रमुख अर्जुन मण्डलले बताउनुभयो ।