देवरामप्रसाद यादव
सप्तरी, माघ ३० गते । सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवामा निर्माणाधीन सहकारी शीतभण्डार अलपत्र अवस्थामा छ । सहकारी शीतभण्डार सम्पन्न हुनुपर्नेमा साढे ३ वर्ष बितिसक्दा पनि निर्माण ठेकेदार कम्पनीले भुक्तानी नपाएको भन्दै काम अलपत्र छोडेको हो ।
आव २०७४-७५ मा प्रदेश सरकारले २५ करोड ४४ लाख ४३ हजार ९ सय ५९ रुपियाँमा गरेको टेण्डर शर्मा, आशिष जेभी प्रालिले ठेक्का कबोल गरेको थियो । मधेश प्रदेश सरकारले प्रत्येक जिल्लामा एक-एक शीतभण्डार निर्माण गर्ने धोषणा अनुसार राजविराज–१५ स्थित देउरी भरुवामा एक बिघा जग्गामा निर्माणाधीन सहकारी शीतभण्डार अलपत्र अवस्थामा छन् ।
सहकारी शीतभण्डार निर्माणको कुल लागतमध्ये ६० प्रतिशत सङ्घीय सरकारले, २० प्रतिशत प्रदेशले र २० प्रतिशत जिल्ला सहकारी सङ्घको समन्वयमा सहकारी संस्थाहरुले व्यहोर्ने सहमति थियो । तीन हजार मेट्रिक टन क्षमताको यो शीतभण्डार निर्माण अलपत्र अवस्थामा रहेको स्थानीय उपभोक्ता रामलखन यादव बताउनुहुन्छ ।
उहाँले शीतभण्डार निर्माण २०७७ जेठ १८ गते समपन्न हुनुपर्नेमा साढे तीन वर्ष बितिसक्दा पनि निर्माण अधुरै रहेको बताउनुभयो । हालसम्म सङ्घीय सरकारले ६० प्रतिशत रकममध्ये ६ करोड ३६ लाख रुपियाँ मात्र निकासा दिएको छ भने प्रदेश सरकारले पनि २० प्रतिशत रकममध्ये १ करोड ४ लाख रुपियाँ मात्र भुक्तानी दिन सकेको छ । यस्तै, २० प्रतिशत रकम स्थानीय सहकारी सङ्घसंस्थाबाट रकम आउन नसकेकाले सहकारी शीतभण्डारको निर्माण अलपत्र अवस्थामा छ ।
जिल्ला सहकारी सङ्घ राजविराजका व्यवस्थापक रमेशकुमार गुप्ताका अनुसार रकम अभावमा भुक्तानी हुन नसक्दा शीतभण्डारको काम अलपत्र परेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा प्रदेश सरकारले ८ करोड बजेट छुट्याए तापनि ठेकेदार कम्पनीले पहिलेको भुक्तानी नभए सम्म काम सुरु नगर्ने बताएको बताउनुभयो । ठेकेदार कम्पनीका प्रतिनिधि घनश्याम साहले काम गरे अनुसारको रकम भुक्तानी नपाएपछि आफूहरुले निर्माण कार्य रोकेको बताउनुभयो ।
ठेकेदार कम्पनीका प्रतिनिधि साहका अनुसार सामान खरिद, मजदुरलाई मजदुरी र काम भए अनुसारको पैसा नपाएकोले काम रोकेको बताउनुहुँदै आठ करोडको काममा पौने चार करोड मात्र भुक्तानी दिएकोले पुरानो भुक्तानी नभएसम्म काम सुरु नगर्ने बताउनुभयो । सरकार र ठेकेदार कम्पनी बिचको सहमति अनुसार काम नभएको कारण निर्माणाधीन शीतभण्डार अलपत्र अवस्थामा छ ।
शीतभण्डार निर्माणस्थलमा प्रयोग भएका फलामे संरचनामा खिया लाग्न सुरु भएको छ । यस सहकारी शीतभण्डारको २०७५ पुस १९ गतेको सम्झौता अनुसार २०७५ फागुन २ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेस प्रदेशका तत्कालीन भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।