• ३० माघ २०८१, बुधबार

प्राधिकरण अध्यक्ष यादवको बिदाइ

blog

आमसञ्चार प्राधिकरणको कार्यालयमा अध्यक्ष यादवलाई बिदाइ गरिएपछि । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, माघ ३० गते । आमसञ्चार प्राधिकरण मधेश प्रदेशका संस्थापक अध्यक्ष श्यामसुन्दर यादवको बिदाइ गरिएको छ । प्राधिकरणका अध्यक्ष यादवको चारवर्षे कार्यकाल मंगलबार समाप्त भएपछि जनकपुरधामस्थित प्राधिकरणको कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँलाई विदाइ गरिएको हो । 

वि.सं. २०७७ मा मधेश प्रदेश सरकारले स्थापना गरेको प्राधिकरणमा यादव पहिलो अध्यक्षका रूपमा जिम्मेवारी पाउनुभएको थियो । अध्यक्ष यादवको कार्यकालमा सञ्चार क्षेत्रको हितमा विभिन्न नीतिगत तथा कार्यक्रमहरु कार्यान्वयन गरिएको छ ।

समारोहमा यादवले आफूले पदभार सम्हालेदेखि विभिन्न बाधा–अवरोधका बाबजुद उल्लेखनीय काम गरेको बताउनुभयो । उहाँले प्रदेशको सञ्चार क्षेत्रलाई सशक्त बनाउन अहोरात्र प्रयास गरेको उल्लेख गर्दै भन्नुभयो, “जिम्मेवारीसँगै चुनौतीहरू थपिए पनि मैले सञ्चार माध्यम र सञ्चारकर्मीको हितमा काम गर्न कुनै कसर बाँकी राखेन ।” 

बिदाइ कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, काउन्सिलका सदस्य अर्जुन मण्डल, प्राधिकरणका सदस्य प्रतिमा चौधरी र अमरेन्द्रकुमार यादव, नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो, सहसचिव हदिश खुद्दार, महासङ्घ धनुषाका अध्यक्ष पुरन साह, सामुदायिक रेडियो प्रसारण सङ्घ मधेशका निवर्तमान अध्यक्ष मनोजकुमार यादव, प्राधिकरणका प्रशासकीय प्रमुख प्रसन्नराज कर्ण, लेखापाल नवलकिशोर महतोलगायतले अध्यक्ष यादवको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।