• ३० माघ २०८१, बुधबार

हराउँदै जाँतो र सिलौटो

blog

सुधा देव 

भारदह-सप्तरी, माघ ३० गते । परापूर्व कालदेखि चलनचल्तीमा रहेको जाँतो, सिलौटोमा पिस्ने चलन दिन प्रतिदिन घट्दै गएको छ । नयाँनयाँ प्रविधिको आविष्कार, सर्वसाधारणको व्यस्तता कारण जाँतो सिलौटोमा पिस्ने चलन हराउँदै गएको हो ।

राजविराज नगरपालिका २ मा तीन पुस्तादेखि सिलौटो, जाँतो र ओखल बिक्री गरेर परिवार पाल्दै आउनुभएका लालबाबु शर्माको परिवार अहिले पनि साेही काममा व्यस्त हुनुहुन्छ । तर मिहिनेत र परिश्रम अनुसार बिक्री वितरण हुन छोडेको उहाँको ३५ वर्षीया नाति शिवजी शर्माको गुनासो छ ।

हजुरबुबाले तत्कालीन सप्तरीको राजविराज नगरपालिका-९ तथा हालको राजविराज २ मा सुरू गर्नुभएको जाँतो, सिलौटो बनाउन अहिले तेस्रो पुस्ता हामी नातिहरूले निरन्तरता दिँदै आएको शिवजीले बताउनुभयो । उहाँका अनुसार हजुरबुवा र बुवाको पालामा यसको व्यापार एकदमै राम्रो भए पनि अहिले सर्वसाधारणले कहिलेकाहीँ मात्र यसको प्रयोग गर्नाले एक पटक किनेपछि पुस्तौं पुस्तासम्म प्रयोग हुने हुनाले बिक्री घटेको हो । पहिले दिनहुँ जाँतो, सिलौटो गरी ४ देखि ७-८ वटासम्म बिक्ने अहिले कहिलेकाहीँ एउटा बेच्न पनि समस्या भएकाे उहाँकाे अनुभव छ ।

सहरमा यसको बिक्री ह्वात्तै घटेको छ । गाउँघरमा अहिले पनि बिक्री हुँदै आएकोले अहिलेसम्म यो पेशामा टिक्न सकेको उहाँको भनाइ छ । शनिबार वा अन्य बिदाको दिन घोडालाई सिलौटो र जाँतो बोकाएर गाउँगाउँ जाने र दिनभरीमा बिक्री गरेर फर्किने गरेको उहाँको भनाइ छ । उहाँ थप्नुहुन्छ, "बनाएको ठाउँमा बेच्न गाह्राे भएकोले गाउँ गाउँमा गएर बेच्नुपर्ने बाध्यता छ ।" उहाँका अनुसार परिवारका १ दर्जन सदस्य यस पेसामा निरन्तर लागिरहनुभएको छ । उहाँका बुवा राजविराजमा र दुई जना काकाहरू कञ्चनरूप तथा भारदहमा जाँतो, सिलौटो बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ ।

पाँच सयदेखि १० हजार रूपियाँसम्ममा सिलौटो र ५ सय देखि १५ हजारसम्ममा एक जोडी जातो तथा ३ सय देखि १५ सयसम्ममा ओखल बिक्री गर्दै आएको शिवजीको भनाइ छ । ग्राहकको चाहना अनुसार जति राम्रो बुट्टा बनाउन सकियो । जति धेरै समय दिन सकियो । त्यति रूपियाँ लिएर बेच्दै आएपनि यस्ता अर्डर कहिलेकाही मात्र आउने गरेको उहाँको भनाइ छ ।

राजविराज नगरपालिका-१६ का वर्ष ५५ का विमला देवले सरूसुरूमा मसला, अचार पिस्न सिलौटोको प्रयोग र दाल, चामल लगायत पिस्न जाँतोको प्रयोग गर्दै आए पनि विगत पन्ध्र वर्षदेखि यस कामको लागि मिल र घरमै भएको मिक्सर प्रयोग गर्दै आउनुभएको जानकारी दिनुभयो ।

समयको माग अनुसार महिलाको घरभित्र र बाहिर दोहोरो जिम्मेवारी निर्वाह गर्ने क्रममा घरभित्रको सम्पूर्ण कामको जिम्मेवारीका कारण समयको अभावमा जाँतो र सिलौटो प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै घटेको उहाँको धारणा छ ।

राजविराज-१ का वर्ष ५० का दुर्गादेवी रजक अर्काको घरको काम गरेर परिवारको जीविकोपार्जन गर्दै आउनुभएको छ । काममा जाँदा 'मिक्सर' उपलब्ध भएकोले मसला लगायत सामग्री मिक्सरमा पिसे पनि आफ्नो घरमा सिलौटोमा मसला पिसेर खाने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार घरमा मिक्सर भएको परिवारले बत्ती नभएको बेला, बिग्रेको बेला विकल्पको रूपमा मात्र जातो र सिलौटो प्रयोग गरिन्छ ।

"यो पेशाले बल्लतल्ल खान पुगेको छ । अरू केही गर्न सकिएको छैन । हाम्रो पुस्तौली पेशा हामीले छोडे कसले गर्ने ? नचाहेर पनि हामी गर्न बाध्य छौं तर समय परिस्थिति अनुसार यसबाट जीविकोपार्जन गर्न कठिनाइ भएको छ", शिवजीका बाबु राजकुमार शर्माले भन्नुभयो । उहाँका तीन छोरा ९-१० वर्षको उमेरदेखि जाँतो र सिलौटो बनाउँदै आउनुभएको हो । तीनै दाजुभाइ सामान्य लेखपढ गर्न सक्नुहुन्छ । पुर्खौली पेशालाई निरन्तरता दिन यहीँ पेशामा समर्पित रहेको उहाँको भनाइ छ ।

तीन पुस्तादेखि यो पेशालाई निरन्तरता दिए पनि यसको प्रयोग घटेपछि यस पेशाको विकल्पमा आफ्नो छोराछोरीलाई उच्च शिक्षा दिने योजना रहेको शिवजीले बताउनुभयो ।

जाँतो, सिलौटो र ओखल बनाउन धरानबाट आफै ढुङ्गा फुटाएर ल्याउने, आवश्यकता अनुसार ढुङ्गाको साइजसँगै चिल्लो बनाउने, आवश्यकता अनुसार बुट्टा कोर्ने काम गर्दै आएको उहाँको भनाइ छ । एक दिनमा एक जनाले १ देखि पाँच वटासम्म सिलौटो र एक देखि दुई जोडी जाँतो बनाउँदै आउनुभएको जानकारी दिनुभयो ।