• २८ फागुन २०८१, बुधबार

सरकार अनौठो र बलियो : खनाल

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै पूर्वप्रधानमन्त्री झलनाथ खनाल । तस्बिर : विनय कर्ण

कल्याणपुर समाचारदाता

कल्याणपुर (सप्तरी), माघ  ३० गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ठुला नेताको बुद्धि नफेरिएसम्म देशमा वामपन्थी सरकार बन्न नसक्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल शाखा सप्तरीले राजविराजमा मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता खनालले नीति कार्यक्रमका आधारमा वामपन्थीहरू मिलेर सरकार बनाए देशले निकास पाउने दाबी गनुभयो । 

‘आर्थिकदेखि लिएर उद्योग, व्यवसाय, कृषि सबैतिर समस्या रहेका कारण जनतामा निराशा छाएको छ तर यो सरकारले केही गर्न सकेको छैन,” उहाँले भन्नुभयो । दुई तिहाइको सरकारले विधि र प्रव्रिmया अपनाएर नियम कानुन बनाउनुको साटो अध्यादेशबाट शासन गर्न खोज्नु गलत भएको उहाँले टिप्पणी गर्नुभयो । अध्यादेश पास भएन भने सरकार फेल हुने दाबी गर्दै नेता खनालले अहिले संविधान संशोधनको हल्ला चलाउनुलाई नाटकको संज्ञा दिनुभयो ।

“अहिलेसम्म संविधान पूर्ण रूपमा लागु नै भएको छैन । ऐन कानुन बनाउन बाँकी नै छ । अनि केको संशोधन ?” उहाँले प्रश्न गर्नुभयो । देशमा अर्थतन्त्र, भूमिसुधार, उद्योगलगायतको क्षेत्रमा रहेका समस्या समाधान गर्नुको सट्टा संविधान संशोधनको कुरा उठाएर सरकारले राजनीतिक ठगी गरेको उहाँको भनाइ छ ।

दुई ठुला पार्टी मिलेर बनाएको सरकार अनौठो र बलियो भए पनि यसले देशको समस्या समाधान गर्न नसकेको बताउनुभयो । “यो दुई ठुला पार्टीको सरकार बलियो छ तर कौडीसम्म फुटाउन सकेको छैन,” उहाँले भन्नुभयो ।