• ३० माघ २०८१, बुधबार

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट पास हुन्छः सञ्चारमन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ कार्यक्रमको उदघाटन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट पारित हुने बताउनुभएको छ ।

संघीय संसदमा छलफलको क्रममा रहेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि केही विरोध आएको भए पनि सामाजिक सद्भाव र सभ्य समाज निर्माणका लागि समाजिक सञ्जाल नियमनसम्बन्धी बन्न लागेको विधेयक हितकर रहेको मन्त्री गुरुङले प्रष्ट पार्नुभयो ।

नेपाल दुरसञ्चार प्राविधिकरणले सुरक्षित इन्टरनेट दिवस २०२५ को सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा उहाँले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजको सद्भाव विथाल्ने कार्य भइरहेको बताउनुभयो । यसको लागि आवश्यक नियमन गर्न विधेयक जरुरी रहेको उहाँको तर्क छ । सामाजिक सञ्जाल नियमन गर्नु भनेको बन्द गर्नु र नियन्त्रण गर्नु नभएको प्रष्ट पार्दै मन्त्री गुरुङले सही तरिकाले सभ्य तरिकाले प्रयोग गर्न, सचेत गराउन खोजिएको बताउनुभयो । 

संसदमा छलफलको क्रममा रहेको विधेयक जसरी पनि पास गर्ने उहाँले जानकारी दिनुभयो । “विधेयकमा नियमन गर्ने भनेको फेसबुक हेर्नै नपाउने भनेर जनमानसमा गलत प्रचार गरिएकोछ । जुन ठिक होइन” उहाँले भन्नुभयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रता मौलिक हक भए पनि कसैलाई गाली गलौच गर्ने अधिकार नरहेको बताउनुभयो । 

सामाजिक सञ्जालमा देखिएको यही अव्यवस्थित अभिव्यक्तिलाई व्यवस्थापन गर्न विधेय ल्याइने उहाँको भनाइ छ। कार्यक्रममा मन्त्री गुरुङले आइटीमार्फत उद्योग कसरी फस्ट्याउन सकिन्छ भन्ने विषयमा मन्त्रालयले गृहकार्य गर्दैआएको बताउनुभयो ।

एआईसम्बन्धी नीति, साइबर सुरक्षासम्बन्धी नीति ल्याउनुका साथै विगतका पुराना ऐन कानुन समय सापेक्ष परिमार्जन गर्ने कार्यमा मन्त्रालय लागेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयले नीतिगत रुपमा सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउने कार्यमा लागेको बताउँदै यसका लागि नीजि क्षेत्रको समेत साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । साइबर सुरक्षा पछिल्लो समय मुख्य चुनौती रहेकोमा उहाँले ध्यानाकर्षण गराउनुभयो । यसमा उपभोक्ता र व्यवसाय सबैले सचेत हुनुपर्नेमा जोड दिँदै सरकार नीतिगत रुपमा सुरक्षाको प्रत्याभूत गराउन सकारात्मक रहेको बताउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले इन्टरनेट असुरक्षित हुँदा बालबालिका र महिला बढी पीडित भएको बताउनुभयो । साथै इन्टरनेटले मानव बेचविखनको खतरा समेत बढाउँदै गएकोमा डिजीटल लिट्रेसीमा सरकारले जोड दिनुपर्ने बताउनुभयो । यसका लागि महिला मन्त्रालय सबै निकायसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा साइरब सुरक्षाबारे विभिन्न विज्ञ र सरोकारवाला माझ सामुहिक छलफल समेत गरिएको थियो ।