काठमाडौं, माघ २९ गते । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई सरकारले यथाशीघ्र न्याय प्रदान गर्न अनुरोध गर्नुभएको छ ।
मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले वास्तविक मोही किसानको पक्षमा भएको सहमतिअनुसार सरकारले यथाशीघ्र न्याय प्रदान गर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “स्वर्गद्वारी आस्थाको धरोहरका रुपमा रहेको छ । यसको संवर्द्धन र प्रवर्द्धनका लागि सरकारको चासो रहनुपर्छ ।” सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै केही समयदेखि स्वर्गद्वारी गुठी पीडितहरु आन्दोलनरत छन् । मोही किसानहरुलाई मोही पुर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।
“स्वर्गद्वारी आश्रमको दाङ देउखुरी र घोराही लगायतमा रहेको जग्गा यदि कुनै सङ्घसंस्थाले वा गैरमोही किसानका नाममा भोगचलन भइरहेको छ भने त्यसको पनि राज्यले खोजतलास राज्यले गरोस्”, उहाँले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हितराज पाण्डेले सरकारले संसद्का समग्र क्रियाकलापमा अवहेलना गरेको र जनताको प्रतिनिधिको आवाज ठीक ढङ्गले सुन्न नचाहिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छलफल गर्ने भनिएको विषयसूची हटाइएको छ । पटक पटक सम्भावित कार्यक्रम हटाइएका छन् । संसद्ले सधैँ सरकारले जे भन्ने हो त्यही अनुसार गर्ने हो कि जनताका प्रतिनिधि भएको संस्थाले बनाएका विषयवस्तु सरकारले पनि पालना गर्ने ?”
नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले संसद्को नियमावलीमा नै सम्भावित सूचीमा तलमाथि हुन सक्ने भनिएकाले यसमा आपत्ति जनाउनुपर्ने कारण नरहेको धारणा राख्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका अनेरास्ववियुका नेतालाई नेपाल प्रहरीले अनुसन्धान नगर्ने तर अभद्र व्यवहार गरेको भनी आशिका तामाङलाई १५ दिनसम्म हतकडी लगाएर डुलाएको भनी प्रश्न गनुर्भयो । उहाँले भन्नुभयो, “यो सदनमा नेपालका युवाहरु विदेश गए भनेर धेरै नेताहरु चिन्तित भएको सुन्छु । तर एउटा पक्षलाई संरक्षण गरेर दलीय विद्यार्थी सङ्गठनका विद्यार्थीलाई मात्रै यो देश सुरक्षित छ भनेर युवाहरुलाई ‘मेसेज’ दिएको हो त ? गृहमन्त्रीले आफैँले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको अनुहार हेरेर यो देशमा बसिदिनुपर्ने ?”
आकस्मिक समयमा सांसद गणेश पराजुली, सीता मिजार, सुशीला सिर्पाली ठकुरी र दिक्पालकुमार शाहीले समसामयिक विषयमा आफ्ना धारणाहरु प्रस्तुत गर्नुभएको थियो । रासस