• २९ माघ २०८१, मङ्गलबार

लिपिङ खोलामा ‘मेटेरी प्यानेल बृज’

blog

लिपिङ खोलामा नेपाली सेनाले निर्माण गरेको पुल ।

विदुर आचार्य

चौतारा, माघ २९ गते । नेपाल–चीन जोड्ने मुख्य  व्यापारिक नाका तातोपानीको लिपिङ खोलामा ‘मेटेरी प्यानेल बृज’ निर्माण सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न गरी नेपाली सेनाले सोमबार हस्तान्तरण गरेको छ । 

पुल निर्माण सँगै नेपाल–चीनको मुख्य व्यापारिक नाका तातोपानी नाका पूर्णतः सञ्चालनमा आएको छ । सोमबारबाट नयाँ निर्माण भएको पुलबाट मालबाहक सवारीसाधन आवत–जावत सुरु भएको हो ।  

गत असोज १२–१३ मा आएको बाढीले बगाएको लिपिङ बजार जोड्ने  मोटरेबल पुल बगाएपछि वैकल्पिक बाटो प्रयोग गर्दैआएको लिपिङ खोलामा सोमबारबाट आवत–जावत सुचारू भएको छ । बाढीले पुल बगाएर समस्या भोग्दै आएका नाकावासी  र व्यावसायीलाई सोमबार ‘बेलिबृज’ निर्माण सम्पन्न भएसँगै सहज भएको छ । 

नेपाल–चीन जोड्ने उत्तरी नाका लिपिङ खोलामा असोजमा आएको बाढीले पक्की पुल बगाएको पाँच महिनापछी ‘बेलिबृज’ निर्माण भएको छ । नेपाली सेनाको प्राविधिक टोलीले माघ २० गतेबाट जडानको काम थालेको एक हप्तामा जडान कार्य सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ । 

४५.७२ मिटर लम्बाइ रहेको लिपिङ खोलाको बेलिबृज नयाँ भर्सनको ‘बेलिबृज मेटेरी प्यानेल बृज’ रहेको नेपाली सेनाको प्राविधिक टोलीले हस्तान्तरणको क्रममा जानकारी दिएको छ । बेलिबृज निर्माण भएसँगै सेनाले शनिबार र आइतबार ‘लोड टेस्ट’ गरी सोमबार सडक डिभिजन कार्यालय चरिकोटलाई भोटेकोसी गाउँपालिकाको सहभागितामा हस्तान्तरण गरेको हो । 

पुल हस्तान्तरण भएसँगै सोमबारबाट नाकामा आयात समेत सुचारू भएको छ । पुल निर्माणका लागि माघ ६ गतेबाट बन्द गरिएको नाका सोमबारबाट सहजरूपमा सञ्चालनमा आएको छ । यसअघि लिपिङमा अस्थाई रूपमा यातायात सञ्चालन गरिएको थियो । 

‘हामीले बेलिबृज जडान गर्न कठिन धरातलमा काम गर्नुपर्यो बेलिबृज लन्च गर्नका लागि आवश्यक पर्ने ठाउँ थिएन, तर पनि हामीले निकै मेहनत गरेर सम्पन्न गरेका छौं,’   नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डा अन्तर्गतको बृजिङ युनिटका प्रमुख सेनानी नारायण तुम्बाहाङ्फेले भन्नुभयो, ‘बृज निर्माण भएसँगै व्यावसायीलाई आयात–निर्यातमा सहज हुनेछ ।’  

असोजको बाढीले पुल बगाएपछि समस्या परेका नागरिक र व्यावसायीलाई राहत मिलेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । सीमा क्षेत्र भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले भुकम्प र बाढीपहिरोपछि नाका खुलाउन पहल भइरहेको भोटेकोशी बाढीले सडक र सीमाका दर्जनौं घर बगाएर कोदारी राजमार्ग तहसनहस बनेको बताउनुहुन्छ । 

‘२०७४ मा चिनियाँ कम्पनीद्वारा निर्मित लार्चास्थित मोटरेबल पुल सुक्खा पहिरोले भोटेकोशी थुनिएर बगेपछि त्यस यता बेलिब्रिज जडान गरिएको उहाँले जानकारी दिनुभयो । यसअघिका वर्षमा क्षति मात्र भइरहेको लिपिङ बजार जोड्ने पुल गत असोजमा बाढीले बगाएको हो ।