• २९ माघ २०८१, मङ्गलबार

अत्तरियालाई अर्जुन ट्रफीको उपाधि

blog

उपाधि विजेता टोली ।

फाप्ला, (कैलाली) माघ २८ गते । धनगढीमा सम्पन्न ‘अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट’ को उपाधि सिवाइसी अत्तरियाले जितेको छ । 

फाप्ला मैदानमा मङ्गलबार सम्पन्न फाइनल खेलमा अत्तरियाले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गरेको हो । उपाधिसँगै अत्तरियाले १० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता डडेल्धुराले पाँच लाख रुपियाँ पुरस्कार पायो ।  

जितका लागि एक सय १९ रनको लक्ष्य पाए पनि डडेल्धुराले  ८४ रन मात्र बनायो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले १० रन बनाउनुभयो । बलिङतर्फ अत्तरियाका लागि शाहव आलम र दिपेश कँडेलले तीन तीन तथा कमल गुप्ता र विवेक यादवले दुई दुई विकेट लिनुभयो । 

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला  ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरको ९ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । उसका लागि रासिद खानले ३१, कप्तान सन्तोष कार्कीले २० र शङ्कर रानाले २० रन बनाउनुभयो । 

बलिङतर्फ डडेल्धुराका लागि अभिषेक गौतमले ४ ओभरमा १५ रन खर्चेर चार विकेट लिनुभयो । कुशल भुर्तेल र अभिषेक चौहानले एक एक विकेट लिनुभयो । प्रतियोगितामा आठ टोली सहभागी थिए । रासस