• १४ वैशाख २०८२, आइतबार

धरान कृषि उपज बजारमा दैनिक एक करोडभन्दा बढीको कारोबार

blog

धरान कृषि उपज बजारस्थलमा खसी, बोका किनबेच गर्दै व्यापारी र किसान । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, माघ २७ गते । धरान कृषि उपज बजारस्थलमा दैनिक उपभोग्य खाद्य वस्तुको किनबेच बढेको छ । उपज स्थलमा दैनिक तरकारी, फलफूल लगायत दुई सय टन कृषि उपजहरुको किनबेच हुने गरेको छ । कृषि उपजहरु सिजन अनुसार उत्पादन हुने हुँदा बजारमा आलु, प्याज, टमाटर, खोर्सानी, सुन्तला, दलहन, मसला, अदुवा, तेजपत्तालगायतका उपजहरुको दैनिक कारोबार हुने गरेको हो । 

औसतमा उपज स्थलमा दैनिक एक करोडभन्दा बढीको कारोबार हुँदै आएको धरान कृषि उपज बजारस्थलका प्रबन्धक लक्ष्मण भट्टराईले बताउनुभयो । पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन भएका तरकारी, फलफूललगायत खसी, बाख्राहरु धरानस्थित कृषि उपज स्थलमा बिक्री वितरणका लागि ल्याउने गरिएको छ । 

धरान उपमहानगरपालिका १३ मा रहेको कृषि उपज बजारस्थल पछिल्लो समय तराई र पहाडका किसान र व्यापारीहरुको किनबेचको प्रमुख केन्द्र बन्दै आएको छ । किसानहरुले उत्पादन गरेका कृषि उपजहरु विक्री वितरणका लागि ल्याउने गरिएको कृषि उपज बजारस्थलका भट्टराईले बताउनुभयो । उहाँका अनुसार सिजन अनुसारको उपजहरु विक्रीका लागि किसान र व्यापारीमार्फत आउने गरेको छ । बढी मात्रमा उपज स्थलबाट आलु, टमाटर, प्याजको कारोबार हुने गरेको छ । कृषि उपजहरु सहजै रुपमा बिक्री हुन थालेपछि किसानहरु व्यावसयिक रुपमा खेती गर्न प्रोत्साहित भएका छन् ।  

व्यापारीमार्फत आलु, टमटर, फलफूल, प्याज पूर्वी पहाडी जिल्लाहरु खोटाङ, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, तेह्रथुम, धनकुटा, भोजपुर, ओखलढुङ्गालगायतका जिल्लाहरुमा उपज स्थलबाट पहाडका व्यापारीले लाने गरेको उपज स्थल केन्द्रले जनाएको छ ।  

पहाडी क्षेत्र र उपज स्थलको आसपासका क्षेत्रबाट हप्ताको दुई पटक बिहीबार र शुक्रबार उपज स्थलमा लाग्ने बाख्रा बजारमा बिक्रीका लागि खसी, बोका ल्याइने गरिएको छ। बाख्रा बजारमा पाँचदेखि सात करोडसम्मको कारोबार हुने गरेको प्रबन्धक भट्टराई बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, "माैसम अनुसार किनबेच बढेको छ ।" 

कृषि उपज बजारमा दैनिक उपभोग्य वस्तुसहित खसी, बोकाको किनबेच बढेको कृषिउपज बजार केन्द्रले जनाएको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट किसान र व्यापारीले बजार केन्द्रमा बोका, खसी ल्याउने गरेका छन् । उपज स्थलबाट व्यापारीमार्फत इटहरी, इनरूवा, विराटनगर, काठमाडौं, जनकपुर, लहान, पोखरालगायत क्षेत्रमा खसी, बोका बिक्रीका लागि लाने गरिएको छ । 

बिहीबार र शुक्रबार लाग्ने खसी बजारबाट हप्तामा करिब तीस हजारभन्दा बढी खसी, बोका बिक्री हुने गरेको कृषिउपज बजार प्रबन्धक लक्ष्मण भट्टराईले जानकारी बताउनु भायो । उहाँका अनुसार आर्थिक कारोबार राम्रो भएको छ । व्यवस्थापक भट्टराईले भन्नुभयो, "पछिल्लो समय पूर्वी पहाडी क्षेत्र र तराईमा बाख्रापालन बढेसँगै खसी, बोकाको किनबेच पनि बढिरहेको छ ।" तराई र पहाडको सङ्गमको रुपमा रहेको धरनामा कृषि उपज बजार व्यवसायिक कृषकको लागी व्यपारिक केन्द्र भएको धरान ६ का कृषक उपेन्द्र पौडेल बताउनुहुन्छ ।

धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट कृषक तथा व्यापारी किनबेचका लागि यहाँ आउने गरेका छन् । यहाँबाट मुलुकका ठूला सहरहरु र भारतसम्म खसी, बोका निर्यात हुने भट्टराईले बताउनुभयो । 

प्रबन्धक भट्टराईका अनुसार पहाडी ग्रामीण क्षेत्रमा उत्पादन भएका अदुवा, अम्लिसो, तेजपात, अलैंची, बेसार, रिठ्ठा, मजिटो, सुन्तला, बन्दाकोबी, फूलकोबी, नासपाती, टमाटरलगायका कृषि उपजहरु भारतमा पनि निर्यात हुने गरेको छ । उत्पादित उपजहरु मुलुकबाहिर पनि निर्यात हुने हुँदा किसानहरुले व्यवसायलाई विस्तार गर्दै लगेका छन् । 

धरान कृषि उपज बजारस्थल बाट पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म उपजहरु जाने गरेको छ । अम्लिसो कुचो महाकाली जाने गरेको छ । उपज बजारस्थलबाट दाल काठमाडौ जाने गरेको छ। त्यस्तै बुटबलतिर गेडागुडी र व्यापारीमार्फत एभोकाडो पोखरा जाने गरेको हो । भन्सार प्रक्रिया गरेर भारतीय व्यापारीहरुले पनि फलफूल तरकारीलगायतका उपजहरु पठाउने गरको लक्ष्मण भट्टराई बताउनुहुन्छ । 

धरान उपज स्थलमा दैनिक उपभोग्य कृषि उपजहरु स्याउ, सुन्तला, अनार, अङ्गुर, एभोकाडो, सिजन अनुसारको आल्चा, भारतबाट ड्रेगन फ्रुट, आलु, टमाटर, खोर्सानी, प्याज, करेला, काउली, बन्दा, तेजपत्ता, कागती, अदुवालगायत उपजहरु मुलुकभरि व्यापारीमार्फत जाने गरेको धरान उपज बजार केन्द्रले जनाएको छ । उपज स्थलमा सङ्कलन भएको मौसमी र बेमौसमी जातका तरकारी तथा फलफूलहरु व्यापारीमार्फत मुलुकका विभिन्न स्थानमा लाने गरिएको छ । 

पहाडी जिल्लाहरुबाट सिजनअनुसारका सुन्तला, नासपाती कागती, जुनार, अम्बा लगायतका फलफूलहरु आउने गरेको छ । त्यस्तै अदुवा, टमाटर, फूलकोपी, बन्दाकोपी, क्याप्सिकन, अकबरे खुर्सानी, बेसार, साग, काँक्रा, इस्कुस, बोडीलगायतका तरकारी आउने गरेका छन् । दलहन बालीका रहरी, कालो दाल, गहत पहाडी जिल्लाबाटै आउने गरेका छन । अलैंची, रिठ्ठा, कुचो, मजिटो, मह, तरुल, रुद्राक्ष, खसी बाख्रा, भेडा पहाडी जिल्लाबाटै आउने गरेको धरान कृषि उपज बजारस्थल कार्यालयले जनाएको छ ।