• २८ माघ २०८१, सोमबार

पर्यटन भित्र्याउँदै घान्द्रुकवासी

blog

तस्बिर : विकिपिडिया

कास्की समाचारदाता

कास्की, माघ २७ गते ।  गुरुङ संस्कृति र सुन्दरताको खानी भनेर घान्द्रुकगाउँलाई चिन्ने गरिन्छ । कास्कीको अन्नपूर्ण  गाउँपालिकामा पर्ने घान्द्रुक ढुङ्गैढुङ्गा बिछ्याएर परम्परागत रूपमा बनेको छ । ढुङ्गाले छाएका घर घान्द्रुकवासीको परम्परागत पहिचान हो । ढुङ्गा छापेर बनाइएका बाटो र सिँढीले यहाँको शोभा बढाएको छ । घान्दु्रक स्वदेशीसँगै धेरै विदेशी पर्यटकका लागि घुम्ने र रमाइलो गर्ने मुख्य केन्द्र बन्दै गएको छ ।

पछिल्लो समय यहाँ आन्तरिकदेखि बाह्य पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न मेला महोत्सव पनि हुने गरेका छन् । ‘सबै मौसमका लागि पर्यटन’ भन्ने मूल नारासहित घान्दु्रक पर्यटन व्यवस्थापन समितिले हरेक वर्ष जस्तो मेला महोत्सव आयोजना गर्ने गरेको छ । यो पटक पनि सोही नारासहित फागुन ७ देखि १० गतेसम्म ‘घान्द्रुक पर्यटन महोत्सव २०८१’ हुने भएको छ । सो महोत्सवमा विभिन्न समुदायमा प्रचलित सांस्कृतिक र खेलकुदका कार्यक्रम समावेश गरिने महोत्सव संयोजक अमृत गुरुङले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुन थालेपछि पर्यटकीय गतिविधिलाई व्यवस्थित बनाउन लागिपरेको उहाँको भनाइ छ । 

पर्यटनका लागि यो उपयुक्त समय नभए पनि घान्द्रुक घुम्न आउने क्रम नरोकिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दैनिक रूपमा पाँच सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् । असोज, मङ्सिर महिनामा दैनिक दुई हजारको सङ्ख्यामा पर्यटक आउने गर्थे ।” उहाँका अनुसार यहाँ दुई हजार दुई जना राख्न सक्ने क्षमताका होटेल र होमस्टे रहेका छन् । अहिले यहाँ ३० होटेल र ६० होमस्टे सञ्चालनमा छन् । महोत्सवको समयमा फागुन ५ देखि ११ गतेसम्म घान्द्रुक जानका लागि बाटो खुला गरिएको उहाँले बताउनुभयो ।

घान्दु्रकबाट माछापुच्छ«े, हिमचुली, अन्नपूर्ण हिमाल अवलोकन गर्नसमेत पाइन्छ । नजिकै हिमालको काखमा बसेको अनुभव गराउने घान्दु्रक आफैँमा लोभ लाग्दो छ ।