जनकपुरधाम समाचारदाता
जनकपुरधाम, माघ २७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधामका विभिन्न अस्पताल अनुगमन गर्नुभएको छ । अस्पतालको सेवाप्रति बिरामीको गुनासो बढ्दै गएपछि मुख्यमन्त्री सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीसहित जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा सञ्चालित निजी अस्पतालको शनिबार अनुगमन गर्नुभएको हो ।
उहाँले थापाचोकमा रहेको जनकपुर ग्रान्डी अस्पताल, पिडारी चोकमा रहेको साई मल्टिस्पेसियालिटी हस्पिटल एन्ड ट्रमा सेन्टर, रामा मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र समर हस्पिटल एन्ड रिसर्च सेन्टरमा अनुगमन गर्नुभएको छ ।
उहाँले अनुगमनका क्रममा बिनाअनुमति सञ्चालन भएका अस्पताल तत्काल बन्द गर्न निर्देशनसमेत दिनुभयो । उहाँले स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापर्बाही हुन नहुने बताउनुभयो । सिंहले भन्नुभयो, “दर्ता प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्नुहोस्, दर्ता प्रक्रिया पूरा नभएका अस्पतालले अस्पतालमा रहेका बिरामीलाई तत्काल सुरक्षित स्थानमा सार्नुहोस् ।”
उहाँले स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै बिनाअनुमति सञ्चालन भएका अस्पताललाई तत्काल कानुनी दायरामा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा संवेदनशील विषय हो । मापदण्ड पूरा नगरी सञ्चालन भएका अस्पतालले नागरिकको ज्यान जोखिममा पार्न पाउँदैनन् ।”
मुख्यमन्त्री सिंहले पहिलो चरणको अनुगमनका क्रममा अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने कागजातको मात्रै माग गरिएको भए पनि धेरै अस्पतालले ती प्रक्रिया पूरा नगरेको र अन्य आवश्यक मापदण्ड पनि पालना नगरेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिलो चरणमा दर्ता, नवीकरण जस्ता आवश्यक कागजात मात्र मागेका थियौँ तर तीसमेत पूरा नगरिएको पाइयो । स्वास्थ्य क्षेत्र संवेदनशील छ, त्यसैले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड अनुसार सञ्चालन गर्नु पर्छ ।”
अनुगमनका क्रममा अस्पतालमा आधारभूत स्वास्थ्य सेवा, सरसफाइ, चिकित्सकीय उपकरण तथा जनशक्तिको अवस्था जाँच गरिएको थियो । मुख्यमन्त्री सिंहले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रदेश सरकारले थप कडाइ गर्ने बताउँदै आवश्यक सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । जनकपुरधाममा पछिल्ला वर्षमा निजी अस्पताल बढ्दै गए पनि कतिपयले मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको गुनासो उठ्दै आएको छ ।