बागलुङ, माघ २७ गते । गोरखापत्र दैनिकका बागलुङ संवाददाता रामकृष्ण बोहरा ‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाद्वारा शनिबार आयोजित पत्रकार लेखनवृत्ति कोष घोषणा तथा पुरस्कार समर्पण कार्यक्रममा बोहरालाई नगद १० हजार रुपियाँसहित सम्मान गरिएको हो ।
गलकोट नगरपालिका ९ का पत्रकार मित्रलाल खरेलकी आमा धनमायाले स्वर्गीय बाबु टीकारामको स्मृतिमा पुरस्कार कोष स्थापना गर्नुभएको हो । एक लाख रुपियाँको कोषबाट बोहरालाई पुरस्कार प्रदान गरिएको पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापा अविरलले जानकारी दिनुभयो ।
तीन वर्षअघि स्थापित कोषबाट अहिलेसम्म दुई वटा पुरस्कार प्रदान भइसकेको छ । पहिलो पुरस्कार महासङ्घका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीलाई प्रदान गरिएको थियो । पुरस्कारका संस्थापक धनमाया अहिले ९९ वर्षको हुनुहुन्छ । बिरामी भएर चितवनमा उपचाररत धनमायालाई कान्छा छोरा मित्रलाल खरेलले उपचार र हेरचाह गरिरहनुभएको छ ।
धनमायाले सामाजिक सुरक्षाभत्ता बुझेको रकम संकलन गरेर पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको खरेलले बताउनुभयो । पुरस्कार कोष स्थापनाको बेला सामाजिक सुरक्षा भत्ताबापत पाउने मासिक २ हजार रुपियाँबाट २६ महिनाको रकम संकलन गरेपछि एक लाख रुपियाँ पुगेपछि पत्रकार महासङ्घलाई हस्तान्तरण गरिएको खरेल जानकारी दिनुभयो ।
सोही अवसरमा विकास पौडेल स्मृति पत्रकारिता पुरस्कारबाट महासङ्घका सहसचिव डम्बर बुढामगर सम्मानित हुनुभएको छ । बुढालाई नगद ५० हजारसहित पुरस्कृत गरिएको हो । महासङ्घका पूर्व सदस्य पौडेलको कोरोना सङ्क्रमणका कारण २०७८ सालमा निधन भएको थियो । उहाँको स्मृतिमा परिवारका सदस्यले ५० हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ । कोषबाट पहिलो पटक यो पुरस्कार दिइएको हो ।