जनार्जन खत्री
सर्लाही, माघ २७ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सिँचाइका लागि गरिएको कृषि विद्युतीकरण लामो समयदेखि अलपत्र रहँदा किसान मारमा परेका छन् । गाउँपालिकाले खेत खेतमा पोल गाड्ने, तार टाङ्ने र ट्रान्सफर्मर जडानको काम पूरा गरेको छ । बिजुली जोड्न मात्रै बाँकी रहँदा किसानले कृषि विद्युतीकरणको उपयोग गर्न पाएका छैनन् । गाउँपालिका कार्यालय र नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्र दोषारोपणमा लाग्दा कृषि विद्युतीकरणको काम अलपत्र परेको हो ।
कुलो तथा नहरको सुविधा नरहेको ब्रह्मपुरी गाउँपालिकाका किसान कृषि विद्युतीकरण सञ्चालन भए सिँचाइ सुविधा पाउने आसमा बसेका छन् । ब्रह्मपुरी गाउँपालिका–६ का किसान फकिरा रायले सिँचाइको व्यवस्था नहुँदा आकासे पानीको भरमा एक बाली मात्रै उब्जनी हुने गरेको गुनासो गर्नुभएको छ । “पानी नभएर खेती लगाउन सारै समस्या छ, आकासे वर्षाले एक बाली मात्रै फल्छ,” रायले भन्नुभयो, “चाँडो विद्युत् चालु होस् भनेर कामना गरिरहेका छौँ ।”
तीन बिघा जग्गा रहेको रायले कृषि विद्युतीकरण सञ्चालन भएपछि मोटर राखेर सहज रूपमा खेती गर्ने आसमा बसेको बताउनुभयो । गाउँपालिकाको योजना र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटबाट ब्रह्मपुरी गाउँपालिकामा पाँच वर्षअघिदेखि नै कृषि विद्युतीकरण गर्न सुरु गरिएको थियो ।
ब्रह्मपुरी गाउँपालिका–७ का पूर्ववडाध्यक्षसमेत रहेका किसान श्यामसुन्दर यादवले एकातर्फ बर्सेनि खडेरी बढ्दै जान थालेको र अर्कोतर्फ करोडौँ खर्चिएको कृषि विद्युतीकरण सञ्चालन नहुँदा मारमा परेको बताउनुभयो । “गाउँपालिकाका ९५ प्रतिशत नागरिक कृषि पेसामै आबद्ध छन् तर एक झर पानी परेन भने कुनै पनि बाली उब्जने अवस्था छैन,” यादवले भन्नुभयो । आठ बिघा जग्गा रहेको यादवले बिजुलीको प्रबन्ध भए ट्युबेल जडान गरेर वर्षमा तीन बाली फलाउने योजना रहेको बताउनुभयो । ब्रह्मपुरी गाउँपालिका आफैँले टेन्डर आह्वान गरी ठेकेदारमार्फत कृषि विद्युतीकरणको काम गराएको हो ।
गाउँपालिका अध्यक्ष रामपदारथ साह तेलीले नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रबाट पोल र तारको गुणस्तर जाँच गरेपछि मात्रै बिजुली जोडिदिने भन्दै बहानाबाजी गर्ने काम भइरहेको आरोप लगाउनुभयो । “गाउँपालिकाले आफ्नो बजेटले भ्याएसम्म किसानको खेत खेतमा विद्युतीकरण गरेको छ तर प्राधिकरणले पोल र तारको परीक्षण गर्नु पर्छ भन्दै ‘लाइन’ जोड्नै मानिरहेको छैन,” अध्यक्ष साहले भन्नुभयो, “प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई समेत भेटेर समस्या सुनाएँ तर समाधान हुन सकेको छैन ।” प्राधिकरणले विद्युत् सप्लाई गर्न साथ दिए ब्रह्मपुरी गाउँपालिका कृषितर्फ सर्लाहीमै नमुना बन्ने अध्यक्ष साहको भनाइ छ । उहाँका अनुसार गाउँपालिकाभित्र कृषि विद्युतीकरणमा करिब पाँच करोड रुपियाँ खर्च भइसकेको छ ।
विद्युत्बाट सिँचाइ पुग्दा किसानले तीन बाली उब्जाउने र कृषि क्षेत्रमा क्रान्ति आउने अवस्था भए पनि प्राधिकरणले विभिन्न प्राविधिक उल्झन निकालेर समस्या सिर्जना गरेको गाउँपालिका अध्यक्ष साहको गुनासो छ । नेपाल विद्युत् प्राधिकरण मलङ्गवाका वितरण केन्द्रका प्रमुख उमेश यादवले पालिकाले आफ्नो बजेटबाट टेन्डरमार्फत विद्युतीकरणको काम गरेको र प्राधिकरणबाट सुपरिवेक्षण नभएसम्म बिजुली छाड्न नमिल्ने प्रस्ट पार्नुभयो छ ।
यादवले भन्नुभयो, “प्राधिकरणको प्रावधान अनुसार पालिकाले सुरुमा मिटर लिनुपर्यो र त्यसपछि हामीले पोल, तारको सुपरिवेक्षण गरेर मात्रै नियम अनुसार लाइन चार्जको काम अघि बढाउँछौँ ।” पालिकाले पोल, तार र ट्रान्सफर्मर खरिद गरेको कागजातसहितको विवरण खुलाएर निवेदन दिएपछि प्राधिकरणले आफ्नो प्राविधिक खटाएर सुपरिवेक्षण अर्थात् लाइन चेकजाँचको काम अघि बढाउने वितरण केन्द्र प्रमुख यादवको भनाइ छ । जुन निकायको भए पनि विद्युतीकरणमा नेपाल सरकारको ठुलो लगानी परिसकेकाले काम गर्दाको कागजात दिएर मिटर जडानको काम अघि बढाउन गाउँपालिकालाई भनिरहेको तर पालिकाबाट नै ढिलाइ भएको वितरण केन्द्र प्रमुख यादवको आरोप छ ।