• २७ माघ २०८१, आइतबार

तरकारी खाइसकेपछि मात्र आउँछ विषादी परीक्षणको रिपोर्ट

blog

काठमाडौँ, माघ २७ गते । देशकै ठुलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमुना सङ्कलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो । 

गत बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजारमा सर्लाहीबाट भित्रिएका दुई गोलभेँडाको नमुना परीक्षणको रिपोर्टमा खान नहुने विषादी भेटियो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ । परीक्षणको रिपोर्टमा अर्गानोफन्टफेट नामक विषादीको अवशेष ८३.६५९ र ७२.७५३ प्रतिशत भेटियो ।

प्रयोगशालाले सर्लाहीका दुई किसान प्रेम गोपाली र धानचरी लामाले ल्याएको गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसमक्ष बिहान ६ बजे रिपोर्ट बुझायो । समितिका सुरक्षागार्डसहित तरकारी स्टलमा ८ बजे पुग्दा घातक विषादी भेटिएको गोलभेँडा सबै बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसकेको थियो । थोरै बाँकी रहेको गोलभेँडा समितिको नेतृत्वमा नष्ट गरियो । 

कालीमाटी समितिका अनुसार बजारमा सामान्यतया तरकारी राति १२ देखि बिहान ३ बजेभित्र आइसक्छ । बिहान ३ बजेदेखि ६/७ बजेसम्म बजारमा भित्रिएको लगभग सबै तरकारी स्थानीय बजार, खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसक्छ । 

तरकारी भान्सामा पु¥याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय प्रयोगशाला अन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको स्वयम् प्रयोगशालामा कार्यरत कर्मचारी स्वीकार्छन् । 

कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले पनि हाल प्रयोगशालाले गर्दै आएको परीक्षणको प्रभावकारिता कमजोर हुँदै गएको बताउनुभयो । राति आएको तरकारी बिहान ३ बजेदेखि स्थानीय बजारमा पुर्‍याउन थालिन्छ । प्रयोगशालाका कर्मचारी ६/७ बजे आएर नबिकेका तरकारीको नमुना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिएर केही अर्थ हुँदैन । 

उहाँले प्रश्न गर्दै भन्नुभयो, “बजारबाट लगिएको तरकारी ८ बजेसम्म भान्सामा पाकेर उपभोक्ताले खाइसक्छन् । उपभोग गरिसकेको तरकारीमा खान नहुने विषादी भेटियो भनेर प्रतिवेदन दिएर केही अर्थ छ ?” 

केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख शान्ता कार्कीले प्रयोगशालामा काम गर्ने कर्मचारीको सुरक्षाको सुनिश्चितता भए आफूहरूलाई राति प्रयोगशाला सञ्चालन गर्न कुनै समस्या नहुने बताउनुभयो । राति प्रयोगशाला सञ्चालनका लागि कर्मचारीलाई सुरक्षा दिने विषयमा एक/दुई चरणमा कालीमाटी समितिसँग कुरा भएको र प्रक्रियामा रहेको जानकारी प्राप्त भएको उहाँको भनाइ छ । “राति आएका तरकारी परीक्षण गरेर प्रतिवेदन तयार गरौँला तर दिएको प्रतिवेदन अनुसार तरकारी नष्ट हुन्छ कि हुँदैन, त्यो पनि सुनिश्चित हुनुपर्ला नि ?” उहाँले थप्नुभयो । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले राति प्रयोगशाला सञ्चालन भएमा तरकारी नष्ट गर्न समिति तयार हुने जनाएको छ । बजारमा सुरक्षागार्डदेखि कर्मचारी रातिदेखि काम गरिरहेको हुने भएकाले प्रयोगशालामा काम गर्ने कर्मचारीलाई यहाँभित्र आएपछि असुरक्षा नहुने समितिले जनाएको छ । 

कालीमाटी प्रयोगशालामा कार्यरत कर्मचारी भने तरकारी परीक्षणका लागि नमुना लिनसमेत आफूूहरूलाई समस्या भएको बताउँदै आएका छन् । केन्द्रीय कृषि प्रयोगशालाका अनुसार पछिल्लो पटक उपत्यका भित्रिने तरकारीमध्ये रायो साग, पालुङ्गो, चम्सुर, मेथी साग, गोलभेँडा, घिउसिमी, पाटे सिमी, ब्रोकाउलीलगायतमा खान नहुने विषादीको अवशेष भेटिएको छ । 

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटीबाहेक बिर्तामोड, बुटवल, पोखरा, सर्लाही, नेपालगन्ज, अत्तरियासहितका १२ स्थानमा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । तत्कालीन मुख्य सचिव लीलामणि पौडेलको पहलमा २०७१ सालको असार अन्तिम साता कालीमाटी तरकारी बजारमा द्रुत विषादी परीक्षण प्रयोगशाला स्थापना गरिएको थियो ।