रमेश विश्वकर्मा
गुल्मी, माघ २५ गते। नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीले वार्षिक करिब ३४ हजार नागरिकको आँखा उपचार र पाँच सयभन्दा बढीको शल्यक्रिया गरेको छ।
२०४९ सालमा स्थापना भएको यस शाखाले गुल्मीसँगै छिमेकी जिल्लाका धेरै आँखाका रोगीलाई सेवा प्रदान गर्दै आएको छ। यस शाखा अन्तर्गत जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गरी गुल्मीमा छ वटा आँखा उपचार केन्द्र सञ्चालित छन्।
नेपालको अन्धोपन निवारण र आँखा उपचार सेवालाई सबै नागरिकको पहुँचमा पु¥याउन शाखाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गर्दै आएको छ। सेभा फाउन्डेसन, डाक नेपाल लगायतका अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा नेपाल नेत्रज्योति संघको केन्द्रीय र प्रदेश समिति एवम् लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्रको मार्गनिर्देशन बमोजिम गुणस्तरीय सेवा प्रदान गरिएको नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेयले बताउनुभयो।
जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रमार्फत् गतवर्ष १३ हजार ४० जनालाई ओपिडी सेवा र ३९ जनाको माइनर अप्रेसन सेवा प्रदान गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा विभिन्न स्थानमा ९० जना सवारी चालकको आँखा परीक्षण गरिएको छ। गत जेठ १६ गते डिआर क्याम्पको आयोजना गरेर रेटिना रोग विशेषज्ञ प्राध्यापक डा. ज्ञानेन्द्र लामिछानेबाट १२३ जनाको रेटिना जाँच गरिएको थियो। स्थानीय तहसँगको समन्वय र सहकार्यमा मोबाइल एपको प्रयोग गरी ४५९ विद्यालयका ४६ हजार ५२० विद्यार्थीको दृष्टि परीक्षण गरिएको थियो।
आगामी वर्ष कालीगण्डकी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको नेपाल नेत्र ज्योति संघ गुल्मीका सचिव पदमप्रसाद पाण्डेले बताउनुभयो।