• २६ माघ २०८१, शनिबार

बुकीबाट औल झरे भेडा बथान (फोटो फिचर)

blog

म्याग्दीको मालिका गाउँपालिका–४,च्युरिबोटका टिकप्रसाद पुन र ललित घर्तीको गोठमा रहेका भेडाबाख्रा। तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ),माघ २६ गते। म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटका टिकप्रसाद पुन बुकी क्षेत्रमा पर्ने चालुकेबाट भेडी गोठ लिएर अहिले औल झर्नुभएको छ। हिउँद सुरु भएसँगै चालुकेबाट जाडो छल्न उहाँ भदौ २०/२२ गतेदेखि म्याग्दी र बागलुङको सिमाना गुर्जाघाट, बोङखानी र बोङखानीमा एक महिनाको बसाईँपछि म्याग्दीको रसपुर, सागबारी, आँसिउरन्ने, भोम्सा, डल्ला, खबाङ जङ्गल हुँदै १५ पुसमा च्युरीबोट औल आइपुग्नुभएको हो। 

उकालो लागेको करिब एक महिनामा बुकी पुगिने उहाँको भनाइ छ। अहिले समयमै पानी नपर्दा औलमा खडेरीका कारण चरनको समस्या हुने गरेको उहाँले बताउनुभयो। गोठमा उहाँसँगै अर्का सोही वडाका ललित घर्तीका गरी दुई सय ५० भन्दा बढी भेडाबाख्रा रहेका छन्।सानै उमेरदेखि भेडी गोठमा बिताउँदै आउनुभएका टिकप्रसाद कहिले लेक कहिले औल गर्नुहुन्छ। उहाँको घुमन्ते जीवनशैलीका कारण लेक जाँदा होस् या औल झर्दा खाने, बस्ने बन्दोबस्तीका सामान साथमै हुन्छन्।  

दिनभर जङ्गलमा चर्ने भेडाका बथान साँझ परेपछि खर्कमा जम्मा हुन्छन्। भेडाका पाठापाठीको स्याहार सुसारमा विशेष ध्यान दिनुपर्छ। भेडपालनमा राम्रो आम्दानी हुने उहाँले अनुभव छ। खसी, साँड र बोका गाउँमै हुने पुजाआजाका लागि बिक्री हुने गर्दछन्। भेडाको मूल्य १३ हजार रुपियाँ तथा साँड, खसी बोका १५ देखि ४० हजारसम्ममा बिक्री हुने उहाँको भनाइ छ। 

अहिले बिक्री गर्न बजारको समस्या छैन। वर्षमा दुई पटक झिकिने भेडाको ऊनबाट काम्लो, हडौला लगायत बुनिन्छ। सामुदायिक वनमा चराउँदा दस्तुर तिर्नुपर्छ। चितुवा, बाघ र भालु लगायत जङ्गली जनावरको आक्रमणबाट भेडालाई जोगाउनु अर्को चुनौती हो। उहाँले सहयोगी र सुरक्षाको रुपमा गोठमा कुकुर समेत पाल्नुभएको छ। कुकुरले गोठको रक्षा गर्न र जङ्गगली जनावर देखेमा भुकेर सङ्केत गर्छन्।