• २६ माघ २०८१, शनिबार

जाँगरिला ७६ वर्षीय पलभान, जुत्ता–चप्पल सिलाएर गुजारा

blog

सिस्ने गाउँपालिका–६ छिप्रिदह स्थित बाटोको छेउमा बसेर जुत्ता–चप्पल सिलाउँदै ७६ वर्षीय पलभान बस्याल । तस्बिर: जयमान बुढामगर

जयमान बुढामगर

रुकुमपूर्व, माघ २६ गते । चार कोरीको आसपास पुगेपनि उहाँको जाँगर मरेको छैन । रुकुमकोटमा अझै पनि उहाँ बाटोमा बसेर जुत्ता–चप्पल सिलाउँदै आउनु भएको छ । यो काम गरेको उहाँको २० वर्ष भन्दा बढी भयो । 

सिस्ने गाउँपालिका–६ का पलभान बस्याल उमेरले ७६ वर्ष । सिस्ने–६ स्थित छिप्रिदहको एक बाटोको छेउमा बसी जुत्ता–चप्पल सिलाउँदै आउनु भएको हो । निरन्तर २० वर्ष पहिले देखि नै बाटोको छेउमा बसेर जुत्ता–चप्पल सिकाउने काम गर्दै आएको उहाँले बताउनुभयो । बस्यालले भन्नुभयो, “केही समय जुत्ता–चप्पल सिलाउन छोडेर रोजगारका लागि भारत गई ३० वर्ष सम्म काम गरियो । त्यसपछि फर्केर लगातार यही कामलाई नै निरन्तरता गर्दै घरपरिवार पाल्दै आएको छु ।” 

खुला आकाश मुनी बाटोको छेउमा बसेर जुत्ता–चप्पल सिलाइ राख्नु भएको छ । खुला आकाशका कारणले फागुन देखि जेठ महिना सम्म तातो घाममा र असार देखि भदौ महिनामा पानीमा भिज्दै कष्टकरका साथ जुत्ता–चप्पल सिलाउँदै आएको उहाँले सुनाउनुभयो । घाम–पानी नभनी जुत्ता–चप्पल सिलाएर नै गुजारा चलाइ राखेको बस्यालले बताउनुभयो । 

एक जोडा चप्पल सिलाए बापत एक सय रुपियाँ र एक जोडा जुत्ता सिलाए बापतको एक सय ५० रुपियाँ लिने गर्नु भएको छ । छोराछोरी घर भन्दा टाढा भएकाले आफ्नो श्रीमती र आफ्नो पाल्नपोषणका लागि जुत्ता–चप्पल सिलाएर नै खर्च जोहो गर्ने गरेको उहाँको भनाइ छ । कमाइ हुँदा दैनिक दुई सय देखि पाँच सय रुपियाँ सम्म र सिलाउने मान्छे नआएको दिन रित्तो हात घर फर्किनु परेको उहाँले बताउनुभयो ।