• २६ माघ २०८१, शनिबार

फोक्सुन्डोका अविस्मरणीय क्षण

blog

दसैँतिहारको बिदामा म धेरै टाढा जान नसके पनि कतार, दुबई या भारतकै कुनै सहरको भ्रमण गर्ने गर्थें । छोराको एसइई परीक्षा तयारीको घडी भएकाले यस वर्षको दसैँतिहारमा कतै घुम्न जाने तारतम्य मिलेन । मेरा कैयौँ मित्र ‘रुकस्याक’ बोकेर विभिन्न स्थानमा पदयात्रा गरिरहन्छन् । व्यस्त जीवनमा पनि कसो कसो फुर्सद निकालेर उनीहरू देशका कुनाकन्दरा पुगेको देख्दा मेरो मनमा पनि पदयात्राको रहर जाग्यो । 

बितेका केही महिना नेपाल पत्रकार महासङ्घको निर्वाचन र अन्तर्राष्ट्रिय मिडिया सम्मेलनको तयारीमा लाग्नुपर्दा पदयात्राको साइत जुरिरहेको थिएन । दसैँतिहारका बिचमा घुम्न जाने भनेर प्रेस युनियनका साथीहरू धादिङका डा. मुरारी अधिकारी र काभ्रेका कपिल कोइरालासँगै तिलिचो तालको पदयात्रामा जाने निधो गरियो । सो क्षेत्रमा हामीलाई यथोचित मार्गदर्शन गर्ने साथीहरूसँग सम्पर्क हुन नसकेकाले मेरो मनस्थिति बदलियो र हामी से फोक्सुन्डो तालसम्म पदयात्रामा जाने भयौँ । त्यसपछि हामी तिहारकै भोलिपल्ट से फोक्सुन्डो तालसम्म पदयात्रामा जाने निधोसाथ तयारीमा जुट्यौँ । काठमाडौँबाट नेपालगन्ज र त्यहाँबाट जुफाल एयरपोर्टसम्म जहाजमा र जुफालबाट से फोक्सुन्डोसम्म पैदलयात्रा गर्ने योजनाबमोजिम तयारी थालियो । नेपालगन्जबाट जुफालसम्म जाने टिकट पाउन नै हम्मे हम्मे पर्‍यो । सातामा बढीमा दुई वटा उडान त्यो पनि नियमित थिएन । तीन जनाका लागि जसोतसो भनसुन गरेर कात्तिक २० गते बिहानको मितिमा नेपालगन्जदेखि जुफालसम्मको टिकट रोक्न लगाएँ ।  

तिहारको टीकाको भोलिपल्ट कात्तिक १९ गते हामी काठमाडौँ विमानस्थल पुग्यौँ । डा. मुरारी अधिकारी यात्रामा सहभागी भएनन् । अघिल्लो दिनसम्म पनि टिकट काट्दा हुन्छ म अवश्य जान्छु भनेका मुरारीजी एकाएक विमानस्थल नआएपछि र सम्पर्कविहीन नै भएपछि मैले गायिका एलिना चौहानको चर्चित गीत ‘धोकेबाज हौ तिमी’ झलझली सम्झिएँ । आखिर धोका मुरारीजीले मात्र हैन, मौसमले पनि दियो । बिहानैदेखि अविरल वर्षा भइरहेको थियो । साँझतिर काठमाडौँको मौसममा सुधार आएर बेलुका ७ बजे उडेको हाम्रो विमान नेपालगन्जको मौसम सफा नभएकाले भैरहवामाथिको आकाशबाटै ‘डाइभर्ट’ भएर काठमाडौँ फर्कियो ।  भोलिपल्ट बिहान ६ बजे नेपालगन्जबाट जुफालको टिकट बुक गरिसकेका थियौँ । अब फसाद पर्‍यो । ६ बजेभित्र नेपालगन्ज विमानस्थलसम्म कसरी पुग्ने भन्ने समस्या तेर्सियो । पदयात्राका लागि कपिललाई मैले नै हौस्याएको, मौसम र मुरारीको धोकाबाट से फोक्सुन्डो यात्रामा विराम लाग्ने देखिएपछि म त पछि हटिसकेको थिएँ, कपिलले भने दाइ, हिँडिसकियो, हिँडेपछि फर्कनहुन्न, रात्रिबसबाट भए पनि जाम भन्न थाले । 

ठ्याक्क त्यसैबेला मेरो दिमागमा एउटा उपाय सुझ्यो । अब भैरहवासम्म जहाजमा जाने, त्यहाँबाट गाडीमा बिहानसम्म नेपालगन्ज पुग्ने । भैरहवा विमानस्थलको मौसमबारे जानकारी लिएँ । मैले दुई जनाका लागि भैरहवासम्मको टिकट लिएँ । त्यो जहाजमा म र कपिल मात्रै यात्रु थियौँ । जहाज केहीबेर डिले भयो । एकछिनमा नेपालगन्ज उडान रद्द भएर अलपत्र अन्य चार यात्रु पनि हाम्रो जस्तै उपायले जहाजमा हामीसँगै मिसिए । बुद्ध एयरमार्फत हामी भैरहवा पुग्यौँ । भैरहवाबाट स्कोर्पियो गाडी भाडामा लिएर छ जनाको टोली रातारात नेपालगन्जतर्फ प्रस्थान गर्‍यौँ । धानखोला भन्ने ठाउँमा खाना खाएर गीत गाउँदै, गफ लडाउँदै, रात्रि यात्राको अनुपम आनन्द महसुस गर्दै हामी कोहलपुरतर्फ हुइँकियौँ । 

काठमाडौँ–नेपालगन्जका दुई वटा उडान रद्द भएकाले जुफाल जाने यात्रु आउँदैनन् भन्ने अनुमान गरेर हामीले बुक गरेको टिकटसमेत अरूलाई बेच्ने सुरसार भइसकेको रहेछ । हामीलाई तारन्तर फोन आइरहेको थियो । हामीले बाटोमै आफूहरू कोहलपुर आउँदै गरेको जानकारी गराएपछि ६ बजेको उडानका लागि बिहान ५ बजे विमानस्थल हाजिर हुन भनियो । रातभरिको यात्राबाट हामी बिहान ३ बजे कोहलपुर पुगेका थियौँ, धेरैबेर सुत्ने त कुरै आएन । हल्का विश्राम गरेर फटाफट नेपालगन्ज विमानस्थल पुग्यौँ । ४० मिनेटको उडानबाट जुफाल अवतरण गर्दा बिहानको ८:३० बजिसकेको थियो । 

जुफालबाट १२ किलोमिटर यात्रा गरेर दुनैस्थित नेपाली सेनाको ब्यारेकनेर पुगेपछि मलाई त्यो दिन त्यतै बस्न मन लागेको थियो । कपिलले ‘भर्खर बिहान भएको छ, बस्नुभन्दा हिँड्नु नै राम्रो, जति सकिन्छ हिडौँ, थाकेपछि बसौँला’ भनेपछि हामी रातको अनिदो भुलेर से फोक्सुन्डो तालतर्फको यात्रामा लम्कियौँ  । ४५ मिनेटभन्दा बढी हिँडिसकेपछि से फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय आयो, जहाँ हामीले टिकट काट्यौँ र अघि बढ्यौँ । 

मैले अघिल्लो दिन नै से फोक्सुन्डो रुटबारे दक्ष गाइड पाए हुन्थ्यो भनेर स्थानीय प्रशासनसमक्ष आग्रह गरेको थिएँ । नभन्दै मलाई खोज्दै एक जना सहयोगी दीपेन्द्र गडौरा पनि आइपुगे । बाटोमा धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुमन ताम्राकार र उहाँका मित्र रसिकसँग परिचय भयो, जसलाई हामीले विमानमा आउँदा नै देखिसकेका थियौँ । यसरी हामी पाँच जनाको टोली यात्रामा निस्कियो ।  

हामी एक हजार नौ सय मिटरको उचाइबाट हिँडेर दुई हजार एक सय मिटरको उचाइमा पुगिसकेका थियौँ । हाई अल्टिच्युडका कारण थकाइ लाग्ने, सास फेर्न कठिनाइ हुने र हिँड्नै नसक्ने खालको बाटो । हामी पुग्नुपर्ने गन्तव्य तीन हजार छ सय मिटरको उचाइमा । मलाई हिँड्न सकिन्न कि भन्ने लागिरहेको थियो । तैपनि हिँड्दै जाँदा दिउँसो २ बजे से फोक्सुन्डो गाउँपालिका क्षेत्र प्रारम्भ हुने सीमानजिकै अवस्थित स्वागत होटेलमा पुगियो, जहाँ हामीले खाना खायौँ । 

यस्ता होटेलमा कतै पनि खाना पहिल्यै पकाएर राख्ने चलन रहेनछ । पदयात्रीले पुगेर अर्डर गरेपछि मात्र खाना तयार गरिँदो रहेछ । पदयात्रा रुटभरि मासु नपाइँदो रहेछ । से फोक्सुन्डो पुगेपछि आठ हजार रुपियाँ तिरेर दुई किलो चिकन अर्डर गर्नुपर्ने या याकको सुकुटी पाइने । बाटोमा भने शाकाहारी खाना नै पाइँदो रहेछ । हामीले अमलेट बनाउन लगाएर लोकल सिमीको दाल, आलु र बन्दाको तरकारीका साथ अत्यन्तै मिठो खाना खायौँ । 

हिँड्दा हिँड्दा मेरो ज्यान थाकेको थियो । जाडो पनि भइरहेको थियो । खाना खाएर होटेल परिसरकै चौरमा यसो घाम ताप्दै पल्टिएको, भुसुक्कै निदाएछु । अपराह्न ४ बजेतिर साथीहरूले जगाए । हामी त्यो साँझ उज्यालो छँदै छेक्मा पुग्यौँ र स्थानीय वेलकम होटेलमा बास बस्ने भयौँ । म नियमित व्यायाम र मर्निङ वाकसमेत नगरी बिहानदेखि बेलुकासम्म सङ्गठनकै काममा लाग्ने मानिसको ज्यानलाई त्यो कठोर यात्राले थिलथिलो पारेको थियो तर छेक्माको त्यो रातको बसाइले सारा थकान मेटायो । किनारमा बगिरहेको ठुली भेरीको कलकल आवाज, ज्यान दुखेमा खाने स्थानीय मदिराको हल्का चुस्की अनि याकको सुकुटी र स्वादिलो भोजनका कारण मिठो निद्रा लाग्यो । 

वेलकम होटेलका सञ्चालकले घोडाको पनि व्यवस्था मिलाउँदा रहेछन् । कपिल र दीपेन्द्र हिँड्न सक्षम भएकाले मैले चाहिँ अबको यात्रा घोडामै गर्ने सोच राखेर अघिल्लो साँझ नै होटेल सञ्चालकसँग घोडा चढेबापतको शुल्कसमेत मोलमोलाइ गरिसकेको थिएँ तर सहयोगी दीपेन्द्रले मलाई घोडाको आवश्यकता नै महसुस हुन दिएनन् । उनले कपिल र मेरो ब्यागका सामान मिलाएर एउटै ब्यागमा व्यवस्थापन गरे । माथि पुगेर फेर्नलाई एक जोर लुगा मात्र भएको एउटा ब्याग मात्र बोक्ने, अर्को ब्याग वेलकम होटेलमै राख्ने तारतम्य मिलाए । मलाई भने लौरो टेकेर हिँड्ने सल्लाह दिए । 

फापरको रोटी, मह र आलु, बन्दाको तरकारी खाएर हाम्रो यात्रा अघि बढ्यो । दीपेन्द्रले ‘एक घन्टापछि टी हाउस आउँछ, त्यसपछि अर्को टी हाउस आउँछ’ भन्दै मलाई घोडा चढ्नुपर्ने अवस्था उत्पन्न हुन नदिई हिँडाएरै अघि बढाए । ठुली भेरीको किनारैकिनार यात्रा गर्दा बाटोमा खच्चडमा सामान बोकाएर ल्याइरहेका मानिससँग भेट भयो । पदयात्री पनि माथिबाट तल झरिरहेका थिए । जाँदा उत्साहका साथ गएकाहरू फर्कंदा थाकेर लखतरान भएको देख्दा आफ्नो पनि अवस्था यस्तै त हुने होला भन्ने लागिरह्यो बाटैभरि । बाटो साँघुरो । कतै कतै त भेरीमै खसिन्छ कि जस्तो । ढुङ्गैढुङ्गाको बाटो भएकाले ठेस लागेर खसिएला भन्ने उत्तिकै डर । स्थानीय कतिपय मानिस र बुढाबुढीसमेत मदिरापान गरेरै हिँडेको मैले पाएँ । फटाफट हिँडिरहेका स्थानीय केही पदयात्री मलाई हिँड्न सकस भइरहेको देखेपछि भन्दै थिए, “अलिअलि रक्सीसक्सी खाएर हिँड्नु पर्छ नि ।”

बाटोमा मैले दुई वटा स्कुल देखेँ, जहाँ काठमाडौँदेखिका शिक्षक गएर पढाइरहेका रहेछन् । हामी पुग्दा वैशाखमा मात्र सञ्चालन गर्ने गरी चार महिनाका लागि स्कुल बिदा भइसकेको रहेछ तर धेरै स्थानीयले आफ्ना छोराछोरीलाई काठमाडौँमा राखेर पढाएका रहेछन् । 

तिहारलगत्तैको समय भएकाले काठमाडौँ, पोखरा र हेटौँडातिरबाट पदयात्रा जानेसँग पनि जम्काभेट भइरह्यो यात्राभरि । संयोगले एक जना यस्ता युवकसँग भेट भयो, जोसँग मेरो पुरानो साइनो जोडिएको थियो । 

“भाइ कहाँबाट आएको ?” मैले सोधेँ । 

“म हेटौँडाबाट,” ती युवकले भने । 

“हेटौँडा कहाँ ?”

“सङ्गम चोक ।”  

५० को दशकमा हेटौँडामा तत्कालीन प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्दाताका म सङ्गम चोकस्थित श्रेष्ठ दाइको ‘न्यु सङ्गम खाजाघर’ मा खाना खान्थेँ । ती युवक त्यही खाजाघर सञ्चालकका छोरा रहेछन् । मैले त्यो खाजाघरसँगको आफ्नो उतिबेलाको सम्बन्धबारे बताएपछि उनी मसँग झन् नजिक भए । टेलिभिजन कर्ममा रहँदा दृश्यपटमा मेरो अनुहार देखेकाले कसै कसैले अहो ! तपार्इं फलानो कार्यक्रम चलाउने शिव लम्साल हैन र ? भन्दै आश्चर्य भाव व्यक्त गर्थे । यसरी पुल तर्दै, नदीको पानीसँग खेल्दै, जिस्किँदै, प्राकृतिक मनोरम छटाको दृश्यपान गर्दै, टी हाउसमा केहीबेर सुस्ताउँदै, भिडियो र तस्बिर खिच्दै पाँच घण्टाको हिँडाइपछि हामी दिउँसो २ बजे से फोक्सुन्डो तालको फेदीमै अवस्थित झरना होटेल पुग्यौँ । 

म अति नै थाकिसकेको थिएँ । अघिल्लो रात नै दीपेन्द्रले झरना होटेलमा बास बस्ने कुरा गरेकाले आराम गर्न पाइनेमा म ढुक्क थिएँ । खाना खाइवरी सुत्न खोज्दा दीपेन्द्र भाइले रोके । उनले भने, “यहाँबाट दुई घण्टा हिँडेपछि त हामी से फोक्सुन्डो नै पुग्छौँ, बास त्यही गएर बसौँला ।” बाटोमा हल्का सघाउन भनेर आएका भाइले ब्यागसमेत बोकिदिएर सही सल्लाह दिइरहँदा आफूले हिँड्न त सक्नु पर्‍यो नि भन्ने लागेर मैले आरामको सोच त्यागेँ र हामीले त्यहाँबाट फेरि अगाडिको बाटो ततायौँ । झरना होटेलबाट ३० मिनेट हिँडेपछि यात्राकै सबैभन्दा कठिन उकालो आउने रहेछ । जब उकालो सुरु भयो, म हिँड्नै सकिनँ । म थचक्कै बसेँ । म बसेको देखेर दीपेन्द्रले मलाई २५ पाइला हिँड्ने र १० सेकेन्ड विश्राम गर्ने सल्लाह दिए । ‘एस’ आकारको नागबेली उकालोमा २५ पाइला हिँड्दा ठयाक्कै उचाइको एउटा पाटो पूरा हुँदो रहेछ र केही तेर्सो बाटो हिँडेपछि उचाइको अर्को पाटो सुरु हुँदो रहेछ । दीपेन्द्रले भनेबमोजिम २५ पाइला हिँड्दै, रोकिँदै, फेरि हिँड्दै से फोक्सुन्डोनजिकको गाउँ पुग्दा साँझको ६ बजेको थियो । 


बास बस्न वडाध्यक्षले नै सञ्चालन गरेको ‘हिमालयन होटेल एन्ड लज’ पुगियो । बाटोभरि करिब शाकाहारी भोजन गरेर आएकाले मलाई कुखुराको मासु खान मन लागिरहेको थियो । आठ हजार 

रुपियाँ तिरेर दुई किलोको कुखुरा काट्न त काटौँला तर त्यत्रो मासु खाने कसले ? भन्ने भयो । मासुको साटो अमलेट बनाउन लगाएर खाना खाइयो । राति १० बजे झ्याप्पै निदाइयो । 

अर्को दिन से फोक्सुन्डो ताल हेर्न गइयो । ‘वाई’ आकारसम्मको ताल मजाले हेरियो । से फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा रहेको यो ताल समुद्री सतहबाट तीन हजार छ सय  मिटरमा छ भने ४.९५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । १४५ मिटर गहिरो यो तालको विशेषता के हो भने आकाशको रङसँगै यसको रङ पनि परिवर्तन भइरहँदो रहेछ । काञ्जिरोवा हिमालको काखमा अवस्थित ताललाई विभिन्न कोणबाट हेर्दा हामीले आठ÷दस वटा रङमा रङ्गिएको पायौँ । हाम्रो अपेक्षाविपरीत तालमा माछा कतै देखिएन । ताल किनारको रिग्मगाउँ, आसपास गुम्बा र चैत्य रहेछन् । 

धेरै बेरसम्म ताललाई हेर्दा पनि धित नमर्ने तर कहिलेसम्म ताल मात्रै हेरिरहने त ? भन्ने प्रश्न आफ्नो ठाउँमा थियो । म चाहिँ त्यो दिन रिग्मगाउँमै बसेर भोलिपल्ट मात्र फर्किने ताकमा थिएँ । गाइड दीपेन्द्रले रिग्मगाउँबाट झरना होटेलसम्म झरेर मात्र बास बस्ने प्रस्ताव गरे । उनको कुरा मनासिबै लाग्यो । ताल हेरिहालियो, जति पटक हेरे पनि उस्तै । घुम्ने अरू कुनै ठाउँ थिएन । आखिर झर्नु नै छ भने आजै किन नझर्ने ? हामी झरनासम्म ओर्लियौँ । से फोक्सुन्डो क्षेत्रमा घुम्ने व्रmममा मैले देशका प्रतिष्ठित उद्यमी, व्यापारी र सरकारका केही पूर्वउच्च अधिकारी होटेल स्थापनार्थ त्यहाँ जग्गा खोज्न आएको जानकारी पनि पाएँ । 

डेढ घण्टामै झरना आइयो । उज्यालै भएकाले त्यहाँ पनि नबस्ने भन्दै हामी तल लम्कियौँ । साँझ झमक्क पर्दा जङ्गल क्षेत्र आइपुग्यो । जङ्गल कटेर छेक्मा पुग्न तीन घण्टा लाग्थ्यो । मोबाइलको लाइट बालेर हामी हिँडिरह्यौँ । जङ्गलको बिचमा पुगेपछि छेक्मा नपुग्दै एउटा टी हाउस भेटियो । प्रायः यस्ता टी हाउसमा चिया र खाजाबाहेक खाने, बस्ने र सुत्ने व्यवस्था हुँदैन । अभर पर्दा त्यहाँ टेन्टको व्यवस्था रहेछ । आफूहरू सुत्ने ठाउँमै पाहुनालाई सुताउँदा रहेछन् । खाएर सुतेको पाँच सय रुपियाँ लाग्दो रहेछ, जुन मलाई ठिकै लाग्यो । हामी त्यो रात त्यही बस्यौँ ।  अर्को दिन बिहानै छेक्मास्थित वेलकम होटेलमा आएर नुहाइधुवाइपछि ब्रेकफास्ट गरियो । सो होटेलमा पहिल्यै राखेको ब्याग बोकेर हिँड्यौँ । स्वागत होटेलमा आएर अर्को लट चिया खायौँ । बाटोमा पर्ने कागेनीमा आएर खाना खाइयो । त्यहाँ प्रतिगोटा २० रुपियाँमा स्याउ किनेर खाँदै हामी दुनै पुग्दा साँझको ५ बजिसकेको थियो । दुनैमा डोल्पाका प्रमुख जिल्ला अधिकारी वैकुण्ठ महत र डिएसपी हरिकृष्ण केसीसँग भेटघाट भयो । प्रजिअ निवासमै हामीले सँगै डिनर पनि गर्‍यौँ । बौद्ध स्कुलको कार्यक्रमका सिलसिलामा त्यहाँ पुगेका पत्रकार डिल्ली पाण्डे र गायक बद्री पङ्गेनीसँग पनि भेटघाट भयो । 

अर्को दिन हामीलाई फर्किनु थियो । प्रजिअ र डिएसपीले भनेपछि जहाजमा सरकारी कोटाको दुई सिट कसो नपाइएला भन्ने हामीलाई लागेको थियो । डिनरकै क्रममा मैले प्रजिअसँग यो कुरा राखेँ । “तपाईंहरू आएपछि यता जहाज आएकै छैन । डिएसपी साहबको छोरी र श्रीमती तिहार मान्न आउनुभएको थियो, छोरीको स्कुल प्रारम्भ भएकाले फर्किनैपर्ने छ । जहाज अझै चार दिन आउने कुरा छैन । आए पनि पर्सिसम्म आउला, पर्सि तपाईंहरूलाई पठाउने कि डिएसपी साहबको परिवारलाई ?” प्रजिअले भन्नुभयो ।  “चार दिनसम्म हामीले जहाज कुर्ने कुरा आउँदैन । डिएसपी साहबको परिवारलाई पठाऊँ, हामी स्थलमार्गबाटै जाउँला,” मैले भनेँ । स्थलमार्गबाटै फर्किनुको विकल्प थिएन । संयोगले त्यति नै बेला कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी त्यहाँ पुग्नुभएको रहेछ । म दुनै पुगेको थाहा पाएपछि उहाँले मलाई फोन गर्नुभएको थियो । उहाँले बास बस्न हामीलाई आफू बसेकै सिद्धार्थ होटेलमा बोलाउनुभयो । मैले मन्त्रीसमक्ष फर्किने समस्याबारे कुरा राखेँ । उहाँले कति जना हो ? भनेर सोध्दा चार जना भनेको थिएँ । किनकि फर्किने समस्या हामीलाई मात्र थिएन, पदयात्राका क्रममा बाटोमा भेटिएका धुलिखेल अस्पतालका डा. सुमन ताम्राकार र उनका साथीलाई पनि थियो । 

मन्त्री भण्डारीले आफू साँझसम्म दुनैमा नै व्यस्त रहने भएकाले बिहानै स्वास्थ्य मन्त्रालयको सुर्खेतस्थित क्षेत्रीय निर्देशनालयका निर्देशक डा. रविन कार्कीको गाडीमा फर्किन हामीलाई सल्लाह दिनुभयो । सुर्खेतबाट पत्रकार मोती पौडेल र कमल पन्तले डा. कार्कीको फोन नम्बर उपलब्ध गराउनुभयो । डा. कार्कीलाई कल गरेर आग्रह गर्दा उहाँले हामीलाई लिफ्ट दिनेहुने भयो । यसका लागि पत्रकार भरतबन्धु थापाको पनि सहयोग रह्यो । 

क्षेत्रीय निर्देशक कार्की दुनैबाट २३ किलोमिटर तल त्रिपुरासुन्दरी मन्दिर क्षेत्रमा हुनुहुँदो रहेछ । भोलिपल्ट प्रहरी प्रमुख केसीले आफ्नै गाडीमा हामीलाई त्यहाँसम्म छाडिदिनुभयो । त्यस ठाउँमा त्यस्तो भव्य मन्दिर देखेर हामी चकित पर्‍यौँ । अब डोल्पाबाट निर्देशकको गाडीमार्फत हामी पश्चिम रुकुम, जाजरकोट, सल्यान हुँदै सुर्खेतसम्म पुग्ने रुटमा अघि बढिरहेका थियौँ ।  हो, यो यात्रामा मैले जीवनमै नभोगेको अवस्थाबाट गुज्रनु पर्‍यो । सुर्खेत पुग्दासम्म साँझको ६ बज्ने जानकारी मैले गाडीचालकबाट पाएँ । ६ बजेपछि सुर्खेतबाट काठमाडौँ फर्किने उडान थिएन । अर्को दिनका लागि टिकट बुक गरिदिन पत्रकार साथीहरूलाई आग्रह गर्दा टिकट पाइएन । सुर्खेतबाट टिकट नपाएपछि मैले नेपालगन्ज या धनगढीबाट पाइन्छ कि भनेर बुझ्दा त्यहाँ पनि रहेनछ । कतैबाट पनि जहाजको टिकट नपाएपछि मैले सुर्खेतबाट काठमाडौँ जाने एसी भएको सोफावाला रात्रिबसको टिकट खोजेँ । यातायात व्यवसायी महासङ्घ, सिडिओ, डिएसपी, पत्रकार महासङ्घलगायत सुर्खेतमा भएका सबै शक्ति परिचालन गर्दा पनि हामीले खोजेजस्तो बसको टिकट उपलब्ध भएन । 

निर्देशकलाई आग्रह गरेर सुर्खेतसम्म लैजाने गाडीमै ८ बजेसम्म नेपालगन्ज पुग्ने र त्यहाँबाट रात्रिबसमा काठमाडौँ जाने सोच बनाएँ । सुर्खेत, धनगढीतिरबाट आउने गाडी कोहलपुरमा ८ बजे त्यहाँ आइपुग्ने भएकाले धनगढीबाटै टिकट बुक गरिदिन नेपाल पत्रकार महासङ्घका हालै निर्वाचित प्रदेश अध्यक्ष भरत शाह र मनमोहन स्वाँरलाई आग्रह गरेँ, त्यहाँ पनि टिकट प्याक रहेछ । 

गाडीमा सुर्खेत जाँदै गर्दा यो दिउँसो २ बजेतिरको कुरा हो । सुर्खेत, धनगढी, नेपालगन्ज कतैबाट पनि जहाज त के बसको धरी टिकट पाइएन । अब हामीसँग आउँदा जसरी आएको हो, त्यसै गरी फर्किने एउटा विकल्प थियो । अर्थात् भैरहवासम्म गाडीमा र त्यहाँबाट काठमाडौँसम्म जहाजमा तर भैरहवाबाट पनि टिकट पाइएन । हुँदा हुँदा बुटवलबाट सोफा बसको टिकट पनि पाइएन । अब हामीसँग सुर्खेतबाटै काठमाडौँसम्म गाडी भाडामा लिने अन्तिम विकल्प बाँकी रह्यो । 

“जहाज फुल फेयरमा उडिरहेका छन् । टिकट पाउनै मुस्किल भो । भाडा पनि महँगो छ । बरु सुर्खेतबाट काठमाडौँसम्म एउटा गाडी रिजर्भ गरौँ,” मैले भनेँ । साथीहरू सहमत भए । मैले गाडीचालकलाई गाडी भाडामा खोजिदिन आग्रह गर्दा उनले आफ्नै एक जना सालोले होटेल व्यवसायका साथै कियाको राम्रो गाडी किनेर भाडामा लगाउने गरेको जानकारी दिए । मैले उनलाई सम्पर्क गरेँ । “म सल्लेरी आइपुगेँ, छिन्चु आइपुग्दा गाडी लिएर आउनुहोला,” मैले भनेँ । यसरी सुर्खेतबाट भाडाको गाडी छिन्चु आयो, हामी त्यहाँ पुग्यौँ । काठमाडौँसम्मको ४० हजार रुपियाँ भाडा तिर्ने गरी साँझ ७ बजे डा. सुमन ताम्राकार, उनका साथी रसिक, कपिल र म गाडी चढ्यौँ । प्रतिव्यक्ति १० हजार पर्ने भयो । जहाज भाडाभन्दा सस्तो पनि भो । 

त्यो रात नेपालगन्ज बसेर अर्को दिन काठमाडौँ फर्किने हाम्रो सोच थियो । हामी पो थाकेका थियौँ तर सुर्खेतबाट आएका गाडीचालकले तपाईंहरू आरामले सुत्नुस्, म रातारात गाडी हाँकेर बिहानै काठमाडौँ पुर्‍याउँछु भने । चालकको कुरामा विमति जनाइनँ, लागियो यात्रामा । नेपालगन्जको ढकेरीमा लोकल कुखुराको मासु र भात खाएर हामी रातारात हुइँकियौँ । अन्ततः चालकलाई आग्रह गरेर गोरुसिङ्गेमा बास बस्यौँ । अर्को दिन बिहानै दाउन्नेमा कुलदेवताको मन्दिर दर्शन गरेर खाना खाइवरी हामी बेलुका काठमाडौँ आइपुग्यौँ ।