• २७ माघ २०८१, आइतबार

बनारसी मेलाका मुख्य पुजारी दलित

blog

फाइल तस्बिर ।

बैतडी समाचारदाता 

बैतडी, माघ २६ गते  । दलित समुदायका व्यक्ति मुख्य पुजारी हुने बैतडीको प्रसिद्ध विश्वनाथ ज्योर्तिलिङ्ग बनारसीधामको मेला सम्पन्न भएको छ । सो मेलाका लागि पाटन नगरपालिकाले शुक्रबार सार्वजनिक बिदासमेत दिएको थियो ।  

पाटन नगरपालिका–३, सुर्नयाको बाइस ताल नदी किनारा रहेको प्रसिद्ध बनारसीधाममा हरेक वर्ष माघ शुक्ल दशमीका दिन भव्य मेला लाग्ने गर्छ । 

बनारसी मेलामा सबै जातजातिका भक्तजनले संयुक्त रूपमा पूजाआजा गर्ने परम्परा अनुसार यो वर्षको मुख्य देउरो कुणी गाउँबाट पुजारी धिरे लोहारको अगुवाइमा पूजाआजा भएको हो । चार सय वर्षअघिदेखि तत्कालीन बैतडीका राजा मानुक चन्दका पालामा दलितलाई प्रधानता दिएर पूजा गरेकाले उक्त चलन अहिलेसम्म चली आएको प्राध्यापक मानबहादुर चन्दले बताउनुभयो ।

मेलामा नेपाल र भारतका दर्शनार्थीसमेत आउने गरेका छन् । बनारसी देवताको मेलामा लोहार, पन्त र भट्ट जातिको सबैभन्दा पहिले धुपपोखल (चामल, घिउ, ध्वजा) चढ्ने गर्छ । त्यसपछि अन्य जाति र समुदायले धुपपोखल चढाउने परम्परा रहेको पुजारी गणेशप्रसाद पन्तले बताउनुभयो । 

उहाँले बनारसी मेलालाई सामुदायिक सद्भावको पर्वका रूपमा मनाउने परम्परा रहेको बताउनुभयो । बनारसी मेलाका दिन सिमडा मन्दिरका पन्त जातिका मुख्य पुजारी बनारसीमा आउने चलन छ । बनारसी र सिमडा देवता दाजुभाइ रहेको किंवदन्ती छ । मेला सुरु हुनुअघि लोहार जातिका धामी/पुजारी र सिमडाका पन्त जातिका धामी/पुजारीसँगै अँगालो हालेर सुर्नया नदीको बाइस तलाउमा सँगै नुहाएर मन्दिर प्रवेश गरेर काम्ने चलन छ । यस मेलालाई सुरगङ्गा तथा बाइस ताल सहश्रलिङ्ग विशेष स्नान मेलका रूपमा पनि लिइन्छ ।