ज्ञानु पंगेनी
मध्यविन्दु, माघ २५ गते । नवलपरासी पूर्व (नवलपुरको) पहाडी पालिका बुलिङटार गाउँपालिकामा सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजना सञ्चालन हुने भएको छ ।
विकट पहाडी क्षेत्रमा रहेको यस पालिकामा १८५ घरधुरीलाई घर–घरमा धारा पुर्याउने गरी ‘चम्घा–खसुवा सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजना’ सञ्चालन गर्न सम्झौता भएको गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले जानकारी दिनुभयो ।
बुलिङटार गाउँपालिका र रोटरी क्लब अफ चितवनबिच खानेपानी योजना सम्पन्न गर्न सम्झौतामा हस्ताक्षर भएको छ । रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्मा र बुलिङटार गाउँपालिकाको तर्फबाट अध्यक्ष सुनारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
अध्यक्ष सुनारीका अनुसार यस योजनाले १८५ घरधुरीलाई ‘एक घर एक धारा’ मार्फत स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनुका साथै, बुद्धि विकास आधारभूत विद्यालय चम्घाका ८५ जना विद्यार्थीका लागि स्वच्छ पिउने पानी, हात धुने सुविधा र चर्पीको व्यवस्था गर्नेछ । सरसफाइ र स्वच्छताका बारेमा जनचेतना जगाउने, खेर जाने पानीको उपयोगबाट करेसा बारी सिँचाइ गरी करिब १० रोपनी जग्गामा तरकारी खेती विस्तार गरिने योजना समेत रहेको सुनारीले बताउनुभयो ।
योजनाले स्थानीय कृषिलाई प्रोत्साहन गर्दै आयआर्जनमा वृद्धि गर्ने लक्ष्य समेत राखेको उहाँले बताउनुभयो । करिब ५५ लाख रुपियाँको अनुमानित बजेटमा सञ्चालन हुने यस योजनाले खानेपानी, कृषि, र सरसफाइमा सुधार ल्याउँदै स्थानीय जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने सुनारीले बताउनुभयो ।
सहयोगी संस्था रोटरी क्लब अफ चितवनका अध्यक्ष शर्माले विकट ग्रामीण क्षेत्रलाई लक्षित गर्दै संस्थाले काम गर्ने भएको हुँदा अध्यक्ष सुनारीको अनुरोधमा आफूहरूले खानेपानी योजनाका लागि सहयोग गरेको बताउनुभयो । यस योजनामा रोटरी क्लब अफ चितवनसँगै अन्तर्राष्ट्रिय संस्था (जापनिज टोली) को पनि सहयोग रहेको उहाँको भनाइ छ । पालिका र सहयोगी टोलीले खानेपानी योजना निर्माण स्थल समेतको अवलोकन गरेको छ ।