कपिल ज्ञवाली
सिद्धार्थनगर, माघ २५ गते । रुपन्देहीको सैनामैना नगरपालिकामा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लब सैनामैनाको आयोजनामा दोस्रो संस्करणको रुपमा ‘दुधराक्ष कप’ क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
माघ २५ देखि सुरु हुने प्रतियोगिता फाल्गुण ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा तीन विभागीय टिमसहित ७ टिमको सहभागिता रहनेछ । कपमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल ए.पि.एफ. क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, कोशी प्रदेश भलिबल सङ्घ, गलकोट भलिबल सङ्घ र मणिमुकुन्द क्लबको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख ५५ हजार ५ सय ५५ का साथै शिल्ड पदक र प्रमाणपत्र, द्वितीय पुरस्कार ३ लाख ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, ब्लकर, सर्भिस, प्रशिक्षक, सेटरलाई नगद राशीले सम्मान प्रदान गरिने खेल संयोजक राजकुमार चौधरीले जानकारी दिनुभयो । सो अवसरमा शिल्डको अनावरण र क्लबको जर्सी सार्वजनिक गरिएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै खेलक्षेत्रको विकासमा नगरपालिका लागेको नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बताउनुभयो । क्लबले विगतका दिनदेखि नै उदारणीय कार्य गर्दै अघि बढेको प्रशंसा गर्दै हातेमालो गर्न सधै तत्पर रहेको उल्लेख गर्दै देश तथा बिदेशबाट यो कपका लागि साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण सैनामैनावासीलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै उपप्रमुखविना रानाले सामाजिक काम मात्र नभई खेल क्षेत्रको श्रीवृद्धिका लागि नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेको बताउनुभयो ।
सामाजिक क्षेत्रमा क्रियाशील दुधराक्ष क्लबले खेलकुद विधा समेत काम गर्दै अघि बढेको क्लबका अध्यक्ष किरण पोख्रेलले जानकारी दिनुभयो । स्थानीय खेलाडीहरुको प्रतिभालाई उजागर गरी विश्वव्यापी रुपमा आफनो गरिमा उचो राख्न भलिबल प्रतियोगिता राखिएको अध्यक्ष पोख्रेलको भनाइ छ ।
प्रतियोगिता सम्पन्न गर्न ६० लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। स्थानीय सरकार तथा प्रदेश सरकारबाट बजेट व्यवस्थापन भएको छ भने विभिन्न सङ्घ संस्थाले सहयोग गरेको सचिव पदम पाण्डेले जानकारी दिनुभयो । प्रतियोगिता सैनामैना वडा ६ कलौनीस्थित वडा कार्यालयको प्राङ्गणमा हुने क्लबका उपाध्यक्ष सुनिल पोख्रेलले बताउनुभयो ।