• २९ फागुन २०८१, बिहिबार

छ सय किलो गाँजासहित एक पक्राउ

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, माघ २५ गते । महोत्तरी जिल्लाको भंगहाबाट प्रहरीले छ सय किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोर प्रसाद चौहानले बिहीबार राति जिल्लाको भंगहा नगरपालिका ६ मजरामा शंकास्पद एक ट्रकलाई चेकजाँच गर्ने क्रममा ४० पोकामा रहेको ६०४ किलो गाँजा बरामद गरिएको जानकारी दिनुभयो ।

बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रक चेकजाँच गर्दा ट्रकको हुडमा डोरीले बाँधेको कालो प्लाष्टिकबाट ४० पोका गाँजा बरामद गरिएको प्रहरी निरीक्षक चौहानले बताउनुभयो । उहाँले गाँजासहित उदयपुरको कटारी नगरपालिका १ बस्ने ट्रक चालक गणेश वहादुर विश्वकर्मालाई समेत नियन्त्रणमा लिएको बताउनुहुदै थप अनुसन्धान जारी रहेको बताउनुभयो । 

सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जमुनिया तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्लाको कोल्हुवा, वगेया, अजमरपट्टी, अनकार, महादेवपट्टी, भटौलियालगायतका क्षेत्रमा गाँजाको खेती गरिन्छ भने मकवानपुर, पर्सालगायत विभिन्न जिल्लाबाट ल्याइने गाँजा महोत्तरी जिल्ला हुँदै भारतीय क्षेत्रमा बिक्री वितरणका लागि पुर्‍याउने गरिन्छ ।

मकवानपुर, बारा पर्सा, रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाका प्रहरीलाई अवैध रकम दिएर गाँजाको ओसारपसार हुने गरेको बताइएको छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको मुख्य नाका भिठ्ठामोड तथा सहायक नाकाहरु ब्थनाहा, सिसवाकटैया, खैरबन्नी, रघुनाथपुर, सम्सी नाकाबाट सङ्गठित रूपमै गाँजा तस्करी हुने गर्छ ।

जिल्लामा लागूऔषध ओसारपसार गर्नेले बर्दिबासलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर कारोबार गर्ने गरेको पाइएको छ । पहाडी क्षेत्रमा उत्पादित गाँजा भारत पुर्‍याउने र भारतीय बजारबाट नेपालमा प्रतिबन्धित नशालु लागूऔषध लिएर फर्कने गरेको पाइएको छ ।