सुरेश धामी
चैनपुर (बझाङ), फागुन २९ गते । बझाङ बुङ्गल नगरपालिका–१ अन्तर्गत दहबगर स्वास्थ्य चौकीका निवर्तमान इन्चार्ज वीरबहादुर धामीको निधन भएको छ । लामो समयदेखि स्वास्थ्य सेवामा योगदान दिँदै आउनुभएका धामीको क्यान्सर रोगका कारण बुधबार बिहान निधन भएको हो ।
वि.सं. २०५२ सालमा स्थायी नियुक्ति पाएर सुर्मा स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा सुरू गर्नुभएका धामीले २०५४ सालदेखि दहबगर स्वास्थ्य चौकीमा सेवा गर्दै आउनुभएको थियो ।
२०७४ सालदेखि बुङ्गल नगरपालिकाको स्वास्थ्य शाखा संयोजकको रूपमा कार्यभार सम्हाल्नुभएको उहाँले पुनः २०७६ सालदेखि २०८१ साल मङ्सिरसम्म दहबगर स्वास्थ्य चौकीको इन्चार्जको रूपमा कार्यरत रहनुभएको थियो ।
धामी हाल गोदावरी नगरपालिका–२, अत्तरियामा बस्दै आउनुभएको उहाँको लामो समयदेखिको क्यान्सर रोगका कारण निधन भएपछि बुङ्गल नगरपालिकाले चैत्र १ गते नगरपालिका मातहतका सबै कार्यालय तथा स्वास्थ्य चौकीहरूमा शोक बिदा दिने निर्णय गरेको छ ।