• २७ चैत २०८१, बुधबार

हिल्सामा मितेरी पुल निर्माण

blog

हिल्सामा कर्णाली नदीमाथि निर्माण गरिएको मितेरी पुल । तस्बिर सौजन्य : ललितबहादुर रावत

हुम्ला समाचारदाता

हुम्ला, माघ २५ गते । नेपाल र चीनको सिमाना हिल्सामा चिनियाँ सरकारका तर्फबाट पक्की मितेरी पुलको निर्माण सुरु भएको आठ महिनामा सम्पन्न भएको छ । चीन सरकारको आर्थिक सहयोगमा पक्की पुल निर्माण पूरा भएको हो । सडक विभागका तर्फबाट पुलको निर्माणमा सहजीकरण र अनुगमन गर्ने जिम्मा पाएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले हिल्सामा दुई देशबिचको मितेरी पुलको निर्माण सम्पन्न भएको बताउनुभयो । उक्त पुलको निर्माण एक वर्षमा सम्पन्न गर्ने गरी गत असारमा चिनियाँ पक्षले निर्माण सुरु गरेको थियो । त्यसयता चिनियाँ पक्षले तीन सिफ्टमा पुल निर्माणको काम गरेका कारण पक्की पुलको निर्माण छोटो समयमा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । 

आयोजनाबाट पुल निर्माण अवधिमा चार पटक अनुगमन गर्ने कार्य प्राविधिकबाट गरिएको थियो । पक्की मितेरी पुलको आठ महिनामा चिनियाँ पक्षले निर्माण सम्पन्न गरेको भए पनि सञ्चालनमा भने आएको छैन । हाल चिनियाँ पक्षले नेपालतर्फको एप्रोज सडक निर्माण कार्य गरिरहेको छ । नेपालतर्फको पुलको छेउबाट दुई सय मिटर सडक चीन सरकारले निर्माण गर्नुपर्ने सम्झौता अनुसार हाल डिजाइन अनुसार नेपाली भूभागमा शौचालय, हेलिप्याडलगायतका संरचना भएका कारण सो सडक निर्माण भने हुन सकेको छैन । 

उहाँले चिनियाँ पक्षले ती संरचना खाली गर्न आग्रह गरेको भए पनि सडक निर्माण हुन नसकेको बताउनुभयो । अहिलेको डिजाइन अनुसार पुलबाट सडक निर्माण गर्दा हिल्सामा नेपाली सार्वजनिक संरचना र व्यक्तिगत भौतिक संरचना भत्काउनुपर्ने भएका कारण त्यसको डिजाइन परिवर्तनका लागि जिल्लामा सर्वपक्षीय बैठकले अनुरोधसमेत गरेको उहाँले बताउनुभयो । 

१४६ मिटर लम्बाइ रहेको सो मितेरी पुल नेपालतर्फ ५७ मिटर र चीनतर्फ ६३ मिटर जमिनमाथि निर्माण गरिएको छ । पुल निर्माणको सबै कार्य पूरा भएको छ । यो काम सबै सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याउन सहमति गरिने उहाँको भनाइ छ ।