• २५ माघ २०८१, शुक्रबार

दुई वर्षमा पनि फर्किएन विमान

blog

उद्घाटनमै सीमित कालीकोटको नरहरिनाथ गाउँपालिका–१, कोटवाडामा रहेको सुनथराली विमानस्थल । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, माघ २५ गते । झन्डै ३८ वर्षपछि निर्माण सकिएको कालीकोटको सुनथराली विमानस्थल उद्घाटनमै सीमित छ । २०८० सालमा औपचारिक उद्घाटन भएको सुनथराली विमानस्थल कोटवाडामा त्यसयता एक दिन पनि हवाईजहाज आएको छैन । 

तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई उद्घाटनका लागि लिएर आएको जहाज उहाँहरूलाई नै लिएर फर्कियो तर त्यसपछि सुनथराली कहिल्यै आएन । उद्घाटन भएको विमानस्थलमा हप्तामा दुई दिन उडान गर्ने भनिएको थियो तर उद्घाटनसँगै त्यो योजना रोकियो । 

विमानस्थल निर्माण हुन पूरै ३७ वर्ष लागेको थियो । निर्माणपछि पनि औपचारिक उद्घाटन गर्न एक वर्ष कुर्न परेको थियो । अब औपचारिक उद्घाटन भएको एक वर्षसम्म हवाईजहाज आउने कुनै सुरसार छैन । 

विमानस्थल उद्घाटनका लागि पनि सात पटक मिति तय भएको थियो । २०७९ चैत १५, २०८० वैशाख १ र १५, जेठ १५, असार १५, साउन १० र भदौ १३ गरी सात पटक मिति सर्दा पनि उद्घाटन हुन सकेन । आठौँ पटक २०८० फागुन १४ गते औपचारिक उद्घाटन त भयो त्यसको कुनै लाभ स्थानीयलाई भएन । 

नरहरिनाथ गाउँपालिका–१ स्थित कोटवाडामा रहेको विमानस्थल सञ्चालनका लागि गाउँपालिकाले गरेका सबै प्रयास असफल भएका छन् । गाउँपालिकाका अध्यक्ष नगिन्द्रबहादुर विष्टले विमानमा यात्रु नभएमा विमान कम्पनीलाई अनुदान दिनेलगायत धेरै प्रयास गरे पनि कुनै पनि विमान कम्पनीले उडान गर्न नचाहेको बताउनुभयो । 

भाडादर निकै चर्को लिने विमान कम्पनीको योजना भएकाले पनि यहाँ विमान सुचारु गराउन नसकिएको अध्यक्ष विष्टको भनाइ छ । 

सुदूरपश्चिम प्रदेशको धनगढीबाट उडान भर्नेसम्मको सहमति विमान कम्पनीले गरेका थिए तर कार्यन्वयन गर्न भने नसकेको अध्यक्षको भनाइ छ । पुनः गाउँपालिकाकै पहलमा गत महिनादेखि हप्तामा दुई दिन उडान गर्ने भनियो । त्यो मितिमा पनि हवाईजहाज नआएपछि यहाँका नागरिक विमान चढ्ने सपना पूरा नहुने पक्कापक्की छ । 

विमानस्थलको धावनमार्गको लम्बाइ ६४० मिटर र चौडाइ २० मिटर कालोपत्रे छ । दुवैतर्फबाट जहाज अवतरण गर्न सकिने बनाइएको छ । १४ करोड ९० लाख रुपियाँको लागतमा विमानस्थल कालोपत्रेसमेत गरिएको छ । हालसम्म निर्माणको लागत एक अर्ब रुपियाँभन्दा माथि पुगेको अनुमान गरिएको छ । यति धेरै खर्च गरेर निर्माण सम्पन्न भएको विमानस्थल प्रयोगमा नआउँदा राज्यको लगानी त्यसै खेर गइरहेको छ ।