विदुर आचार्य
चौतारा, माघ २४ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा (एमाले) ले एकल बहुमत ल्याउनेगरी पार्टी गतिविधि सञ्चालन गर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा (एमाले) सिन्धुपाल्चोकले आयोजना गरेको तीन महिने जरा अभियानको शुभारम्भ गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले व्यवस्थित र चलायमान पार्टी निर्माण गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त हुने बताउनुभयो । एमाले र नेपाली कांग्रेसको सहकार्य र प्रतिस्पर्धा स्वभाविक र नियमित रहेको उहँले बताउनुभयो ।
२०४६ को परिवर्तनपछि पनि प्राप्त उपलब्धि संरक्षणका लागि सहकार्यको प्रस्ताव गरिएको सन्दर्भ औँल्याउदै राष्ट्रिय सङ्कटको समयमा दुई ठुला पार्टी मिलेर सरकार निर्माण गरिएको प्रस्ट पार्नुभयो । मुलुकलाई अस्थिरताबाट बचाउन दुई दलबिच सहकार्य भएको उहाँले बताउनुभयो ।
‘मुख्य राजनीतिक दलका नेताहरू मिलेर जानुपर्छ भन्ने एमालेको निर्वाचन लगत्तैको विचार हो’ पोखरेलले भन्नुभयो, ‘कांग्रेससँग सहकार्य र प्रतिस्पर्धा दुबै सँगसँगै हुन्छ । यो प्रतिस्पर्धामा योग्यता देखाएर अगाडि जाने हो र अगाडि नै पुग्छौं । मिसन ८४ एमालेका लागि बहुमत प्राप्तिका लागि हो, त्यो पूरा गर्न आजबाटै नेता कार्यकर्ता सक्रिय हुनुपर्छ ।’
‘सामाजिक सुरक्षा कोष, राजमार्ग निर्माण, पारवाहन सन्धी, स्वास्थ्य सेवा विस्तार, नाकाबन्दीको सामना र मूल विकासका लागि एमालेको सरकार आउनु परेको सबैलाई विदितै छ’ पोखरेलले भन्नुभयो, ‘अध्यादेश संसद नचलेको बेला ल्याउन पाउने भएर नै ल्याएको हो । आवश्यक भएर ल्याएको हो । नागरिको सेवा प्राप्त गर्न सहजताका लागि ल्याइएको हो । यसको बाँकी प्रक्रिया संसदमा छँदैछ ।’
‘कुनै पनि भ्रष्टाचारी एमालेमा रहँदैन, कोही भ्रष्टाचारी एमाले हुँदैन’ भन्दै नेता पोखरेलले एमालेका नेता कार्यकर्तालाई भ्रष्टाचारको अफवाह फैलाइएकाले त्यसविरुद्ध प्रतिवाद गर्नुपर्ने बताउनुभयो । नेकपा (एमाले) सिन्धुपाल्चोकले जिल्ला तथा स्थानीय तहसम्ममा तीन महिने जरा अभियानको कार्यक्रम निर्धारण गरेको छ ।