काठमाडौं, माघ २४ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा सुरु भएको सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।
उहाँले विकासलाई राजनीति र धर्मभन्दा माथी राखेर हेर्न नेपालका सम्पूर्ण राजनीति दल तथा सर्वसाधारणमा आग्रह गर्नुभयो । उहाँले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद् भएको बताउनुभयो । उहाँले पाथीभरा केबलकार प्रकरणमा भइरहेका विरोधहरु विकासका लागिभन्दा पनि पपुलिजमका लागि गर्न खोजिएको बताउनुभयो ।
अध्यक्ष ढकालले अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आम नागरिकलाई मेनुपुलेट गरेर सूचना फैलाउने काम भएको जिकिर गर्नुभयो । उहाँले बेरोजगार भएर वैदेशिक रोजगारबाट नेपालमा नै अवसर खोजेर काम गर्ने र लाखौं नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई कम गर्नेे हिसावले नेपालमा ३५ वर्षदेखि सक्रिय भएर काम गरिरहेको जानकारी दिनुभयो ।
पछिल्लो समय पाथीभरा केवलकारको विषयलाई लिएर सामाजिक सञ्जालमा चन्द्रप्रसाद ढकाल नेपालको दलाल वा नेपालमा राख्न नहुने मान्छेको रुपमा प्रचार गरिनु खेदजनक रहेको बताउनुभयो । उहाँले नेपाल रोजगारी दिने, अवसर खोज्ने, वैदेशिक रोजगारीमा जान रोक्ने विषयलाई प्राथमिकता दिन नसके भविष्यमा पछुताउन पर्ने अवस्था आउने उल्लेख गर्नुभयो ।
अध्यक्ष ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आइटी हबको लक्ष्य हासिल गर्न सकिने जानकारी दिनुभयो ।
आइटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपियाँ बराबरको सेवा निर्यात गर्नसक्ने र लाखौं मानिसलाई रोजगारी दिनसक्ने क्षेत्र भएको उल्लेख गर्नुहुँदै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गर्नुभयो ।
नेपाल सरकारले नेपाली सूचना प्रविधि (आइटी) क्षेत्रको विकासका लागि पछिल्ला कानुनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिने बताउनुभयो ।