• २४ माघ २०८१, बिहिबार

गाजाबाट ‘स्वेच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको सेनालाई आदेश

blog

जेरुसेलम, माघ २४ गते । इजरायली रक्षामन्त्री इजरायल काट्जले बिहीबार सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना तयार गर्न आदेश दिएको बताउनुभएको छ ।

“मैले आइडिएफ (सेना) लाई गाजाका बासिन्दाहरूलाई स्वेच्छिक प्रस्थान गर्न सक्षम बनाउने योजना तयार गर्न निर्देशन दिएको छु”, उहाँले एक विज्ञप्तिमा भन्नुभयो ।

उहाँ सेनालाई ‘कुनै पनि गाजाका बासिन्दालाई स्वीकार गर्न इच्छुक कुनै पनि देशमा जान चाहने जो कोहीलाई पनि त्यसो गर्न दिने’ तयारी गर्न भनेको स्पष्ट पार्नुभयो ।

“यस योजनामा भूमि नाकाहरूमार्फत बाहिरिने विकल्पहरूका साथै समुद्र र हवाई मार्गबाट प्रस्थानका लागि विशेष व्यवस्थाहरू समावेश हुनेछन्”, काट्जले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजापट्टी कब्जा गर्ने’ योजना जारी गरेपछि यो टिप्पणी आएको हो । ट्रम्पको उक्त टिप्पणीले विश्व नेताहरूको आलोचना र उहाँको प्रशासनद्वारा ती टिप्पणीहरूलाई फिर्ता लिने प्रयासहरू निम्त्याएको थियो ।

काट्जले ‘गाजाको ठुलो जनसङ्ख्यालाई विश्वभरका विभिन्न स्थानहरूमा पुनर्स्थापित गर्न सक्ने ट्रम्पको साहसी योजनालाई’ स्वागत गरेको बताउनुभयो ।

यो योजनाले छोड्न चाहने गाजावासीहरूलाई ‘आश्रयदाता देशहरूमा उत्कृष्ट रूपमा एकीकृत हुन र साथै निःशस्त्रीकृत, खतरामुक्त गाजाको पुनर्निर्माण कार्यक्रमहरूको प्रगतिलाई सहज बनाउन’ मद्दत गर्नसक्ने उहाँले बताउनुभयो ।

इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले काट्जको कदमको प्रशंसा गर्नुभएको छ ।

“आप्रवासन योजनामा हाम्रो भूमिकाको कार्यान्वयनका लागि तयारी गर्न र गाजालाई प्राप्त गर्ने देशहरूमा प्रस्थान गर्न सजिलो बनाउन (इजरायली सेना) लाई निर्देशन दिने रक्षामन्त्रीको निर्णयलाई म स्वागत गर्दछु”, स्मोट्रिचले विज्ञप्तिमा भन्नुभयो । रासस/एएफपी