काठमाडौं, माघ २४ गते । सुर्तीजन्य पदार्थमा शत प्रतिशत भागमा चेतावनी मूलक सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतनावनी मूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१ स्वीकृत गरेसँगै यो नियम लागु हुने भएको हो । यो निर्देशिका स्वीकृत भएको १८० दिनपछि लागु हुने मन्त्रालयले जनाएको छ ।
सयअघि ९० प्रतिशत भागमा चेतावनी मूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संशोधन गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘क्यान्सरको उपचार मात्र हैन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो । चुरोट र सूर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौं ।’’
सूर्तिजन्य पदार्थ स्वास्थ्यकालाई हानीकारक छ भन्ने लगायतका चेतनवानी मूलक सन्देश र सूर्तिजन्य पदार्थ सेवनको अवसरबाट भएको घातक, रङ्गिन चित्र प्रष्ट रूपमा बुझ्ने र देख्ने गरी नेपाली भागमा छाप्नु पर्ने छ ।
चेतावनी मूलक सन्देश चुरोट, बिडी, खैनी, सूर्ति र गुट्खा जस्ता सूर्तिजन्य पदार्थको भित्री र बाहिरी प्रत्येक बट्टा, प्याकेट, र्यापर्स, पार्सल र प्याकेजिङमा छाप्नु पर्ने छ ।
छपाई गर्ने प्रत्येक ब्याचमा चुरोटको कुल जम्मा बट्टा, प्याकेट र र्यापर्समा २०–२० प्रतिशत सङ्ख्यामा समानुपातिक तवरले पाँच वटा घातक रङ्गिन चित्र र चेतावनी मूलक सन्देश छाप्नु पर्ने निर्देशिकामा उल्लेख छ ।
चुरोटको बट्टा, प्याकेट र र्यापर्सको सहायक माथिल्लो सम्पूर्ण भागमा सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुम्रपानले ज्यान लिन्छ भन्ने चेतावनी मूलक सन्देश छाप्नु पर्ने छ ।
चुरोटको बट्टा, प्याकेट र र्यापर्सको सहायक दायाँ भागको माथिल्लो नब्बे प्रतिशत भागमा धुम्रपानमा नाइट्रोसोमाइन र बेन्जोपाइरिन जस्ता क्यान्सरको कारक तत्त्वहरू हुन्छन्, धुम्रपान गर्न छोडौँ भन्ने चेतावनी मूलक सन्देश र तल्लो दस प्रतिशत भागमा ब्रान्ड नाम उल्लेख गर्नु पर्नेछ ।
त्यस्तै, सहायक बायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा धुम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ धुम्रपान गर्न छोडौँ भन्ने चेतावनी मूलक सन्देश र तल्लो दस प्रतिशत भागमा उत्पादकको नाम र ठेगान छाप्नु पर्नेछ ।
चुरोटको बट्टा, प्याकेट र र्यापर्सको सहायक तल्लो सम्पूर्ण भागमा सुर्तिजन्य पदार्थमा भएको निकोटिनको मात्रा, ब्रान्ड नाम र उत्पादन मिति उल्लेख गर्नुपर्नेछ ।
यस्ता चेतावनी मूलक सूचनाले सूर्ती तथा चुरोट छाड्नेको सङ्ख्या वृद्धि हुने विश्वभर भएका अध्ययनहरुले देखाएका छन् ।
नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सूर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको भनाइ छ । मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष ३७ हजारको सूर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गर्छ ।