निशा राई
धरान, माघ २४ गते । किराँतहरुको नयाँ वर्ष यले दोङ ५०८५ (यलम्बर संवत्) को अवसरमा यही माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
किराँतीहरुले माघ १ मा यलम्बर संवतकाे रुपमा नयाँ वर्ष मान्दै आइरहेका छन् । सोही अवसरमा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल सङ्घको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोगमा धरान भानुचौकमा नया वर्षलाई भव्य रुपमा मनाउने क्रममा एकदिने बास्केटबल प्रतियोगिता आयोजना हुन लागेको किँरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताले पुरुषतर्फ नगद तिस हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उपविजेताले नगद रु. १५ हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी महिलातर्फका विजेताले नगद २० हजार, र उपविजेताले नगद १० हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका महिला पुरुष उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयर उपाधि विजेताले नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा धरानलगायत तरहरा, इटहरी, झापा, मोरङ, धनकुटाबाट करिब ४० टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । गत वर्ष पुरुषतर्फ ब्रदस क्लब र महिलातर्फ धरान मेघा हिमालयन कलेजले उपाधि जितेका थिए ।