• २४ माघ २०८१, बिहिबार

हिमवत्खण्ड सम्मिलन हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २४ गते । हिमवत्खण्डमा छरिएर रहेका नेपाली भावनालाई समेट्ने प्रयासस्वरूप चैत १ देखि ३ गतेसम्म  काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन गरिने भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा. विजय सुब्बाका अनुसार हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबिच सांस्कृतिक आदानप्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने कार्यक्रम छ ।

डा. सुब्बाका अनुसार सम्मिलनमा मुलुकका सात वटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डबाट नेपाली लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । राजधानीमा हुने सम्मिलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृति’ का सम्बन्धमा प्रवचन दिनुहुने छ । 

नेपालऋषि प्राज्ञ डा. जगमान गुरुङद्वारा ‘हिमवत्खण्डको सांस्कृतिक वैशिष्ट्य’ का सम्बन्धमा र सिक्किमका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङद्वारा ‘हिमवत्खण्डमा नेपाली भाषा तथा नेपाली लोकसंस्कृतिको अवस्था’ का बारेमा विशेष प्रवचन हुने छ । प्राडा चूडामणि बन्धुद्वारा हिमवत्खण्डमा नेपाली भाषाको अवस्था, डा. रमेश ढुङ्गेलद्वारा हिमवत्खण्डको संस्कृति र विश्वव्यापीकरण एवं डा. भेषराज अधिकारीद्वारा हिमवत्खण्डको नेपाली खानपान संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । 

डा. सुब्बाले सम्मिलनमा नेपाली चलचित्रमा भाषा र नेपाली छापा माध्यमको भाषा सम्बन्धमा समेत समूह छलफल गरिने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।