गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २४ गते । सरकारले श्रम गन्तव्य देशमा वैध र नेपाल सरकारको रेकर्डमा अवैध (कागजातविहीन) भनिएका नेपाली श्रमिकलाई गन्तव्य देशबाट श्रम स्वीकृति दिन सुरु गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही महिनाअघिको निर्णय अनुसार पहिलो पटक गत शुक्रबार मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट त्यस्ता श्रमिकलाई श्रम स्वीकृति दिन सुरु गरेको हो । ओमानमा सुरक्षित र वैध तरिकारले काम गरेका नेपाली श्रमिकलाई गत शुक्रबार र शनिबार सलालामा श्रम स्वीकृति प्रदान गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रूपमा श्रम स्वीकृति प्रदान गर्नुभयो ।
दूतावासका अनुसार ओमानमा विशेष गरी नेपालका घरेलु श्रमिक बढी कार्यरत छन् । नेपाल सरकारले विगत नौ वर्षदेखि प्रतिबन्ध घरेलु श्रमिकको प्रतिबन्ध लगाएको छ । त्यसबिचमा विभिन्न देश हुँदै ओमान गएका र त्यसअगाडिदेखि नै कार्यरतले पनि श्रम नवीकरण गर्न नपाएका गरी २०/२५ हजार श्रमिक भएको अनुमान दूतावासको छ ।
सो अवसरमा राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा राहदानी कन्सुलरसम्बन्धी कार्यक्रम गरेको ओमानले जारी विज्ञप्तिमा उल्लेख छ ।