• २४ माघ २०८१, बिहिबार

बेलायती अधिराजकुमार दम्पती उपत्यकामा व्यस्त

blog

बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्ड बुधबार भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २४ गते । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एड्वार्ड र उहाँकी धर्मपत्नी सोफीले नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौँ र भक्तपुरका विभिन्न स्थान भ्रमण गर्नुभएको छ । भ्रमणको दोस्रो दिन बिहानै अधिराजकुमार एड्वार्ड भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्न पुग्नुभयो । सो क्रममा उहाँले भक्तपुरको स्थानीय कला र संस्कृतिले भरपूर भक्तपुर दरबार परिसरको अवलोकन भ्रमण गर्नुभयो । 

उहाँ दरबार क्षेत्रको प्राचीन कलात्मकता देखेर दङ्ग पर्नुभयो । विभिन्न कालखण्ड हुँदै मल्लकालीन राज्यव्यवस्थापछि समृद्ध बनेको भक्तपुरको दरबार परिसर विश्वकै संरक्षित क्षेत्रमध्ये एक स्थल हो । यहाँको परम्परागत र नेपाली लयको सौन्दर्यले हरकोही विदेशी पाहुनाको मन हर्छ । त्यस्तै गरी राजकुमार एड्वार्डले पनि अवलोकनका क्रममा हरेक पाइलामा चासो राखेर कलाकृतिबारे जिज्ञासा राख्नुभयो । साथै उहाँले दरबार क्षेत्रमा २०७२ सालको भूकम्पले पारेको असर र पुनर्निर्माणपछिको अवस्थाबारे जानकारी पनि लिनुभयो । 

उहाँकी पत्नी अधिराजकुमारी सोफीले भने बुधबार भक्तपुर अस्पतालको प्रसूति कक्षको पनि अवलोकन भ्रमण गर्नुभयो । सो क्रममा अस्पतालको प्रसूति सेवाबारे चासो राख्दै विविध जानकारी लिनुभयो । त्यहाँ रहेका सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य अवस्थाबारे पनि उहाँले प्रत्यक्ष बुझ्नुभएको भक्तपुर अस्पताल प्रशासनले जनाएको छ । भर्खर जन्मेका नवजात शिशुलाई आफैँ बोकेर सुत्केरी महिलासँग उहाँले भलाकुसारी गर्नुभयो । साथै उहाँले दुव्र्यवहार तथा हिंसामा परेका महिलाको व्यवस्थापन र सामाजिक पुनस्र्थापनाका विषयमा पनि चर्चा गर्नुभयो । 

नेपालमा महिला स्वास्थ्य स्वयम्सेविकाको निःशुल्क योगदानको चर्चा विश्वमै अतुलनीय रहेको औँल्याउनुभएको थियो । अस्पतालले प्रदान गरेको सेवा सन्तोषजनक रहेकोमा खुसी व्यक्त गर्दै बेलायत सरकारको सहयोगमा निर्मित नयाँ भवन र स्तरोन्नत भवनको समेत अवलोकन गर्नुभयो । सो क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका सबै अस्पतालको प्रसूति कक्षलाई सर्वसम्पन्न बनाउने काममा सरकार लागेको जानकारी गराउनुभएको थियो । 

अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले देशका विभिन्न क्षेत्रका बिरामीलाई विभिन्न प्रकारको सेवा प्रदान गराउँदै आएको जानकारी गराउनुभयो । नेपालस्थित बेलायती दूतावासका अनुसार अधिराजकुमारी सोफीले माइती नेपालको कार्यालय तथा कीर्तिपुर आँखा फाउन्डेसनको पनि अवलोकन भ्रमण गर्नुभएको थियो । 

साथै उहाँहरूले बुधबारै एसओएस बालग्रामको पनि अवलोकन भ्रमण गर्नुभएको थियो । नेपाल भ्रमणमा रहनुहुँदा उहाँहरूले नेपालस्थित बेलायती दूतावास, गोदावरीको राष्ट्रिय वनस्पति उद्यान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको भ्रमण गर्नुहुने कार्यसूची छ । त्यस्तै पोखरालगायत पर्यटकीय स्थलको भ्रमण पनि गर्नुहुने जनाइएको छ । नेपालमा रहनुहुँदा बेलायत सरकारको सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमबारे जानकारी लिनुका साथै उच्च नेतृत्व तथा अधिकारीसँग भेटवार्ता गर्नुहुने जनाइएको छ ।  उहाँहरू मङ्गलबार नेपाल आउनुभएको हो ।