• २४ माघ २०८१, बिहिबार

कुमारी बहुउद्देश्यीय सहकारी प्रहरीद्वारा सिल

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ २३ गते । आर्थिक अपचलन आरोप लागेको बेनी नगरपालिका –८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई प्रहरीले सिल गरेको छ । सहकारीको वर्तमान तथा पूर्व पदाधिकारीले आर्थिक अपचलन गरेको भन्दै गत २० गते आइतबार पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले बुधबार सहकारी संस्थालाई सिल गरेको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार बिहान कुमारी बहुउद्देश्यीय सहकारीका पूर्व उपाध्यक्ष तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख बेनी नगरपालिका –१ रत्नेचौरका ३६ वर्षिय राजकुमार थापालगायत पाँच जनालाई आइतबार बिहान प्रहरीले गिरफ्तार गरेको छ । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) सागर पौडेलका अनुसार गिरफ्तारीमा पर्नेहरुमा रघुगंग गाउँपालिका–५ झिँका ६७ वर्षिय मनप्रसाद थजाली, अन्नपुर्ण गाउँपालिका–७ हिस्तानका ६६ वर्षिय थमबहादुर गर्बुजा, पर्वत लेखफाँटका ५३ वर्षिय रुद्रबहादुर गुरुङ र बेनी नगरापालिका–१ रत्नेचौरकी ४९ वर्षिय देवी कुमारी थापा रहनु भएको छ ।

प्रहरीले बुधबार सहकारी संस्थाको बेनी नगरपालिका –८ बैंकरोडमा रहेको कार्यालय शिल गरेको जिल्ला प्रहरी कार्यालय इन्सपेक्टर पौडेलले जानकारी दिनुभयो । थप अनुसन्धान गर्न सहकारी शिल गर्नुका साथै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइएको छ । 

पहिलो पटक आइतबार तीन दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले बुधबार पुनः जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

प्रहरीका अनुसार सहकारी रजिष्ट्रार कार्यालय पोखराको पत्र जाहेरीले थापा समेतका पाँच जनालाई गिरफ्तार गरिएको हो । बेनी नगरपालिका –८ स्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुको बचत रकम हिनामिना भएको सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको इन्सपेक्टर पौडेलको भनाइ छ ।