सन्तोष दहित
दाङ (घोराही), माघ २३ गते । नेकपा (एमाले) ले दाङमा आमसभाको तयारी गरेको छ । फागुन ५ गते हुने आमसभामा ५० हजार बढीको सहभागिता गराउने एमाले दाङका पदाधिकारीहरूको भनाइ छ ।
आमसभाको उदघाटन नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गर्नुहुने आयोजकको भनाइ छ । एमाले जिल्ला कमिटी दाङको बुधबार पार्टी कार्यालय घोराहीमा बैठक बसेर सो निर्णय गरेको हो ।
जनसभालाई व्यवस्थित बनाउन जिल्ला अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा १७६ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको संयोजकत्वमा जनपरिचालन उपसमिति, जिल्ला सचिव श्याम डाँगीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, सचिवालय सदस्य सुदन केसीको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति, प्रचार विभाग प्रमुख संगीत बस्यालको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ ।
जिल्ला अध्यक्ष आचार्यको अध्यक्षका अनुसार दाङका १० वटै पालिका र १०० वटा वडा कमिटी तथा अनेमसङ्घ, अखिल नेपाल किसान महासङ्घ, अनेरास्ववियू, राष्ट्रिय अपाङ्ग महासङ्घ, लोकतान्त्रिक मगर सङ्घ, लोकतान्त्रिक थारू सङ्घ, नेपाल जातीय मुक्ति समाज, नेपाल राष्ट्रिय व्यवसायिक महासङ्घ, नेपाल राष्ट्रिय खेलकुद महासङ्घ, बुद्धिजिवी परिसद्, भूमि तथा सुकुम्वासी महासङ्घ, पेसागत महासङ्घ, प्रेस चौतारी नेपाल, प्रगितिशील, मानव अधिकार एलायन्स, नेपाल मुस्लिम इतिहाद सङ्गठन, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ, नेपाल पिछडा वर्ग, राष्ट्रिय शिक्षक सङ्गठन लगायत जनवर्गीय सङ्गठनका सदस्यहरूको सहभागिता रहनेछ ।
पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली दाङ आउने अवसरलाई उत्सवका रूपमा लिन आग्रह गर्नुभयो । प्रधानमन्त्री दाङ आउनुनै यहाँका नागरिकका लागि अवसर भएको उहाँको भनाइ छ ।