• २३ माघ २०८१, बुधबार

भुटानलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै चर्च ब्वाइज र भुटानका खेलाडी । तस्बिर : गोरखापत्र

निशा राई          

धरान, माघ २३  गते । चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ धरानमा जारी २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

धरान रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइजले रोयल थिम्पु कलेज भुटानलाई ७–० गोलले हरायो । चर्च ब्वाइजका लागि २१औँ मिनेटमा समीर तामाङले सुरूवाती गोल गर्नुभयो । उहाँले आबायोमी फाकुन्लेको पासमा गोल गरेका गर्नुभएको थियो । 

यसैगरी २७औँ मिनेटमा अर्मोन्ड बेड्युमले थप एक गोल गर्नुभएको थियो । लगत्यै २६औँ मिनेटमा पदम भट्टराईले अर्को गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो ।

पहिलो हाफमा ३–० गोलको अग्रता लिएको चर्च ब्वाइजका लागि ४९औँ मिनेटमा रोहन कार्कीको कर्नरमा अर्मोन्ड बेड्युमले थप एक गोल गर्नुभयो । ५१औँ मिनेटमा समीर तामाङको पासमा फेरि पनि अर्मोन्ड बेड्युमले गोल गर्नुभयो ।  यससँगै अर्मोन्डले ह्याट्रिक गर्नुभएको थियो ।

५५औँ र ८५औँ मिनेटमा समीर तामाङले पुनः दुई गोल गर्नुभएसँगै उहाँले पनि ह्याट्रिक पूरा गर्नुभयो । सुरूदेखि नै दबाबमा रहेको भुटानले सान्तवना गोलसमेत गर्न सकेन । खेलको म्यान अफ दि म्याच समीर तामाङ घोषित हुँदै नगद १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।

बिहीबारको अन्तिम सेमिफाइनल खेल साविक विजेता न्यूरोड टिम (एनआरटी) र पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब (युकेएफसी)बिच प्रतिस्पर्धा हुनेछ । माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।