• २३ माघ २०८१, बुधबार

मुलुकलाई निकास दिन कांग्रेस एमालेको सरकार : अध्यक्ष गुरुङ

blog

नेपाली कांग्रेस पर्वत क्षेत्र नं. २ ले पैंयू गाउँपालिकाको हुवास, हातेमालो चोकमा आयोजना गरेको प्रथम सम्मेलनमा सहभागी हुनुहुँदै नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलगायत ।

पर्वत, माघ २३ गते । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकमा सङ्कट पर्दा नेपाली कांग्रेस र एमाले मिलेर निकास दिने गरेको बताउनुभएको छ ।

मङ्गलबार नेपाली कांग्रेस पर्वत क्षेत्र नं. २ ले पैंयू गाउँपालिकाको हुवास, हातेमालो चोकमा आयोजना गरेको प्रथम सम्मेलनलाई सम्बोधन गर्नुहुँदै  अध्यक्ष गुरुङले मुलुकमा सङ्कट परेपछि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनुभयो । उहाँले विगतको इतिहास हेर्ने हो भने कांग्रेस र एमाले मिलेर निकास दिएको प्रशस्त उदाहरण रहेको बताउनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘अहिले कांग्रेस र एमालेको सरकार बनेको छ । मुलुकमा सङ्कट छ । जबजब मुलुकमा सङ्कट हुन्छ, कांग्रेस र एमाले पार्टी मिलेको हुन्छ ।’’

‘‘चाहे २०४६ सालको आन्दोलन होस्, २०४७ सालको संविधान होस्, २०६२÷६३ सालको आन्दोलन होस्, २०७० सालमा बनेको संविधान होस् ,’’ उहाँले भन्नुभयो, ‘‘मुलुकमा अहिलेको सङ्कटलाई निकास दिनका लागि कांग्रेस र एमालेको सरकार बनेको हो ।’’

तरुण दलका अध्यक्ष गुरुङले जनताको दुःख र सुखमा नेपाली कांग्रेस रहेको बताउनुहुँदै कांग्रेसले मात्रै जनताको दुःखमा साथ दिन सक्छ धारणा व्यक्त गर्नुभयो ।  साथै उहाँले नेपालमा ठुलो आर्थिक सङ्कट रहेको बताउनुभएको छ ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापा, कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गोविन्द शाह, तरुण दलका केन्द्रीय सदस्य मुना भुसाल, क्षेत्रीय सभापति प्रवीण गुरुङ, प्रतिनिधि सभाका सांसद कुसुम थापा, कांग्रेस गण्डकी प्रदेशका सदस्यद्वय रामकृष्ण मल्ल र रेखा पुन लगायतको उपस्थिति थियो ।